चाबहिल गोपीकृष्ण हलनजिक ठेलामा तरकारी बिक्री गरेर जीविका गर्दै परिवार पाल्दै आएकी सरस्वती मैनालीको कथा नेपाली आमश्रमिकले लकडाउनपछि पाएका पीडाहरूको एउटा बिम्ब हो । महामारीको रोकथामका लागि सरकारले निरपेक्ष रूपमा लकडाउन र निषेधाज्ञाको उपाय अपनायो । यस्तो लकडाउन पनि साता–दश दिनको थिएन । पहिले नै चार महिना लकडाउन गरेको सरकारले फेरि निषेधाज्ञा लगाएको छ । सरकारका प्रशासकहरू दसैँसम्म निषेधाज्ञा लगाउनुपर्ने भन्न थालेका छन् ।
तर, यो लकडाउन या निषेधाज्ञा बैंक ब्यालेन्स हुनेहरू, नियमित आयस्ता हुनेहरू र विशेषगरी सरकारी कर्मचारीका लागि मात्रै सहज बन्यो, बाँकी जो श्रम गरेर, ज्याला बनिबुतो गरेर जीवन चलाउनेहरू थिए, ती सबका लागि यो एउटा अभिशाप बनेको छ । सरकारले तिनको पीडा कहिल्यै महसुस गरेन । तिनले के खाए, भाडा कसरी तिरे, औषधि–उपचार कसरी गरे, सरकारलाई वास्ता भएन । यस्तो लाग्छ कि सरकार हुनेखानेहरूको जीवनरक्षाका लागि हुँदा खानेहरूलाई भोकले र रोगले मर्न बाध्य पारिरहेको छ । जो सडकमा सानोतिनो स्वतन्त्र व्यवसाय गरेर जीविका गरिरहेका थिए, ती सकसमा छन् । जो निर्माण उद्योगमा १० घन्टा काम गरेर जीवन चलाउँदै थिए, ती सकसमा छन् । जो बजारमा अनौपचारिक क्षेत्रमा काम गर्दै परिवारमा दीर्घरोगी सदस्यहरू पालेर जीवन घचेटिरहेका थिए, ती सकसमा छन् । लाखौँ मानिस सकसमा धकेलिएका छन् । घरबाट निकालिँदै छन्, पसलमा उधारो पाउन छाडेका छन् । अस्पताल जान सकिरहेका छैनन्, औषधिको नियमित खुराक लिन सकिरहेका छैनन्, तिनीहरूका प्रति सरकारले अहिलेसम्म कुनै दायित्व सम्झेको देखिन्न ।
लकडाउन या निषेधाज्ञा बैंक ब्यालेन्स हुनेहरू, नियमित आयस्ता हुनेहरू र विशेषगरी सरकारी कर्मचारीका लागि मात्रै सहज बन्यो, बाँकी जो श्रम गरेर, ज्याला बनिबुतो गरेर जीवन चलाउनेहरू थिए, ती सबका लागि यो एउटा अभिशाप बनेको छ । सरकारले तिनको पीडा कहिल्यै महसुस गरेन । तिनले के खाए, भाडा कसरी तिरे, औषधि–उपचार कसरी गरे, सरकारलाई वास्ता भएन ।
सरस्वती मैनाली धेरै समस्या सँगै बोकेर आफ्नो जिजीविषा चलाइरहेकी एक आम नेपाली हुन् । उनका पति बिरामी छन्, बच्चा साना छन्, गाउँ फर्किने ठाउँ छैन, आफू दैनिक ब्रुफिनको सहाराले सडकमा निस्किन सक्छिन् । तिनकै ठेलागाडा प्रहरीले पल्टाउँछ र तराजु लुट्छ । स्तनमा क्यान्सरको जोखिम बढ्दै छ, किड्नी बिग्रेको छ र उनी ब्रुफिनका भरमा पसिना बगाइरहेकी देखिन्छिन् । कोरोनाको भयलाई आफ्नो पेट, परिवारको भोक र आश्रयको दबाबले जितेको छ । यसप्रति हाम्रो सरकार, समाज र समुदायको के जिम्मेवारी हो भन्ने अहिलेसम्म प्रस्ट छैन । सरस्वती मैनाली एक बिम्ब हुन् । अनेक पेसामा रहेका हजारौँ मानिस यस्ता व्यथाले उकुसमुकुस भएर बसेका छन् । यो विस्फोटको तहमा जाँदै छ, तर कोरोना फैलिने क्रम भने बढ्दो छ ।
यस्तो समयमा नेपाल सरकारले गर्नुपर्ने र गर्न सक्ने महत्वपूर्ण काम भनेको यसरी समस्यामा परेकाहरूलाई परिवारको संख्या हेरी केही महिनालाई न्यूनतम निर्वाह हुने गरी नगद हस्तान्तरण गर्ने हो । यसो गर्दा उनीहरूको जीवन चल्छ, अर्थतन्त्रमा मुद्रा प्रवाह र गतिशीलता पनि आउँछ । अहिले भएको सामानको स्टक सकिँदै जाँदा उत्पादनमुखी क्रियाकलापमा थप सक्रियता आउने वातावरण बन्दै जान्छ । केही भएन भने पनि सरकारले आफ्ना नागरिकको जीवन बचाउन गर्नैपर्ने काम हो यो । छिमेकी भारतले यो नीति लागू गर्यो, अमेरिका र चीनले पनि सामान्य स्तरमा यसरी नगद दिने काम गरेकै थिए । जनता नै अर्धमृत अवस्थामा धकेलिएपछि बजेट बचाएर अरू योजनामा लगाउनुको पनि के अर्थ हुन्छ र ? नयाँ अर्थमन्त्रीका लागि यो कोर्स करेक्सनको अवसर हुनेछ ।
यो पनि पढ्नुहोस्:
- एक महिला जसले ३७ लाख श्रमजीवीको आवाज बोलिन् (भिडियो रिपोर्टसहित)
- सरस्वतीलाई सहयोग गर्न नमोबुद्ध नगरपालिका तत्पर, देश–विदेशबाट सहयोगको प्रस्ताव