साउन २८ गते बुधबार सामान्य ज्वरोसहित मलाई शरीरमा दुखाइ अनुभव भयो । सामान्य ज्वरो ठानी तीन दिनसम्म सिटामोल खाएँ, पानीको बाफ लिएँ । तर, ज्वरो केही तलमाथि हुनेबाहेक खासै सुधार भएन, बरु हलुका खोकी लाग्न सुरु भयो । एकजना डाक्टर साथीलाई फोन गरेर औषधि सुरु गरेँ– अस्थालिन र बुडकोर्टसहित ।
अर्काे दिन कीर्तिपुर हास्पिटलमा उपचार गराउन पुगेँ । पहिले खाइरहेको औषधिमा सामान्य थपघट गरेँ । डाक्टरले पाँच दिनसम्म औषधि लिन र कोरोनाको परीक्षण गराउनु भनेर सल्लाह दिएका थिए । अर्काे दिन कोरोनाको परीक्षण गराउन स्टार अस्पताल गएँ । अवस्था बिस्तारै खराब हुँदै गएकाले त्यहीँ आइसोलेसनमा राख्न अनुरोध गरेँ, तर परीक्षण रिपोर्ट नआइसकेकाले बेडको अभाव देखाई राख्न मानेनन् । कोरोनाको परीक्षण गराई कीर्तिपुर डेरा फर्कें ।
तर, भदौ २ गते रातभरि खोकी लाग्यो । लाग्थ्यो, अब बाँचिँदैन कि ? तैपनि, नआत्तीकन ठीक भइन्छ भन्ने विश्वासमा ३ गते पनि डेरामा नै बिताउने प्रयत्न गरेँ । तर, असह्य पीडापश्चात् अत्तालिएर ४ गते बिहान २ बजे एकजना ट्याक्सीड्राइभर भाइलाई अनुरोध गरी बोलाएँ र राति नै नर्भिक अस्पताल पुगेँ । तर, त्यहाँ जँचाउन जाँदा कोरोनाको परीक्षण रिपोर्ट मागे । एक दिन पहिले मात्र कोरोनाको परीक्षण गराएको र आज रिपोर्ट आउने जवाफ दिएँ । उनीहरूले कोभिड–१९ का लागि छुट्याइएको भवनतिर जान भने । त्यहाँ १० जना सबै गम्भीर प्रकृतिका बिरामी रहेछन् । अनि आफ्नो बारेमा सबै सुनाएँ । तपाईंलाई खासै केही भएको छैन, कोठा फर्कनुस् भने, कार्यरत डाक्टरले ।
मलाई कोरोनाले जुन कष्ट र भय दिएको थियो, त्यसलाई जित्न आयुर्वेदिक औषधिले ठूलो मद्दत गरेकोमा मलाई कुनै शंका छैन
मलाई ल्याउने टयाक्सीवाला पनि कीर्तिपुर फर्किसकेको थियो । धेरैपटक अनुरोध गर्दा पनि इमरजेन्सीमा राख्न मानेनन् । हामीलाई भित्र बस्न दिन पनि नमानेपछि औषधि बिक्री कक्षअगाडिको बेन्चमा बसेर जसोतसो रात काटेँ । नर्भिकका डाक्टर आफैँले रिपोर्टका लागि स्टार अस्पतालमा फोन गरे, तर सफलता हात लागेन । म डाक्टर चोख्यानीको नियमित पेसेन्ट भएकाले निजलाई देखाएर जाने आशामा त्यहीँ रात बिताएको थिएँ, तर विनापरीक्षण उनले नहेर्ने जनाइयो ।
अन्ततोगत्वा हार मानेर पाथिभरा आयुर्वेदिक अस्पताल, सिनामंगल पुगेँ । त्यहाँका डाक्टर बिपी तिमिल्सिनाले नाडी समाते र एकछिनपछि औषधि लेखिदिए । सामान्य ज्वरो हो, नघबराउनु । तीन दिनपछि निको भइहाल्छ भन्ने भरोसालाग्दा जवाफ दिए । यत्रो दिन मेडिसिन खाँदा खासै केही नभएको उल्टै दिनप्रतिदिन खराब अवस्था भइरहेकोमा उनले दिलाएको भरोसाका साथ जसोतसो औषधि लिएर कीर्तिपुरस्थित डेरामा फर्कें ।
अवस्था नाजुक हुँदै गइरहेको थियो । विद्युत्को झट्काजस्तो दिमागमा हान्न सुरु भएको थियो । त्यो रात बडो कष्टका साथ गुजारेँ । बेलुका करिब ४ बजे नगरपालिकाबाट फोन आयो । मलाई कोरोना लागेको जानकारी दिइयो र नआत्तिन, केही भए फोन गर्न र कोठामा नै आइसोलेसनमा बस्न भनियो ।
त्यसपछि भने म अलि बढी नै डराएँ, किनकि ८–९ दिन भइसकेको थियो । सबैजना सँगै बसेका थियौँ । रिपोर्ट पोजेटिभ आएको कुरा डाक्टर तिमिल्सिनालाई सुनाएँ । उनले नघबराउनुहोला । मैले दिएको औषधि त्यसैको हो भने । ठयाक्कै तेस्रो दिनपछि निको हुन सुरु हुन्छ भनेका थिए । केही पर्दा म डेरा नै आइदिन्छु, नघबराउनु भनेर सान्त्वना पनि दिए । उनले मेरा बालबच्चा र श्रीमतीका लागि पनि औषधि दिएका थिए । उनी वेलावेलामा फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइराख्थे ।
ठ्याक्कै तेस्रो दिनको मध्यरातिबाट मेरो शरीरले केही सुखद अनुभूति ग¥यो । ज्वरो पूर्ण रूपमा हट्यो । तर, खोकी बेस्सरी लागिराखेकाले शरीर धेरै नै कमजोर र बोल्न नसक्ने अवस्थामा थिएँ । अलि राम्रो महसुस हुन थालेपछि १४ गते वयोधा अस्पताल बल्खुमा परीक्षण गराउन गएँ । १५ गते ह्वाट्सएपमा रिपोर्ट पठाएँ । रिपोर्ट नेगेटिभ थियो । सँगै बसेकाले मेरी श्रीमती र छोरीलाई पनि संक्रमण भएछ । तर, आश्चर्य छोराको भने नेगेटिभ आयो । यद्यपि मसँगै सबैजनाले आयुर्वेदिक औषधि खाइरहेका थिए । सायद त्यसैले हो कि उनीहरूलाई मलाई जस्तो ज्वरो, खोकी वा अन्य लक्षण थिएन, रोगप्रतिरोध क्षमता बढेर होला । १६ गते सबैका बारेमा जानकारी लिन नगरपालिकाबाट बिहानै फोन आएको थियो ।
यसरी आफू कोरोनाबाट सहृदयी डाक्टर तिमिल्सिना, परिवार एवं आफन्तहरूको माया, अग्रज, साथीहरूलगायतको हौसला र ट्याक्सीड्राइभर भाइको सहयोगले बच्न सफल भएँ । मलाई कोरोनाले जुन कष्ट र भय दिएको थियो, त्यसलाई जित्न आयुर्वेदिक औषधिले ठूलो मद्दत गरेकोमा मलाई कुनै शंका छैन । कम्तीमा यसले मेरो रोगप्रतिरोध बढाइदिएकोमा मेरो विश्वास छ । अहिलेको यो अन्योलको समयमा आयुर्वेदिक औषधिको सुविचारित प्रयोगले हानि होइन, फाइदै गर्ला, यतापट्टि पनि ध्यान दिऔँ ।
(संक्रमण निको भएका साह अध्यागमन
विभागका निर्देशक हुन्)