रित्ता भाँडा बोकेर भेड्पुवासीद्वारा चरिकोटमा प्रदर्शन

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

प्रशासनले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै दोलखा सदरमुकाममा आइतबार दिउँसो मेलुङ गाउँपालिका– ४ भेड्पुवासीले प्रदर्शन गरेका छन् । आफ्नो गाउँमा परेको खानेपानी योजनाको बजेट मेलुङ गाउँपालिका अध्यक्षले अन्यत्रै लैजान खोजेको भन्दै विरोधस्वरूप रित्ता भाडा लिएर प्रदर्शन गरेका हुन् ।

भेड्पुवासीका अनुसार गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले योजना अन्यन्त्र नलैजान आग्रह गर्दै ज्ञापनपत्र बुझाउन गएका पाँचजना सर्वसाधारणलाई समेत पक्रन लगाएर मुद्दा चलाएका छन् । तर, अध्यक्ष श्रेष्ठले भने आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै आएका छन् । अध्यक्ष श्रेष्ठमाथि मेलुङ गाउँपालिका– ४ भेड्पुमा संघीय सरकारबाट आएको ९० लाखको खानेपानी योजनाको बजेट कटौती गरेर अन्यत्र पठाउन लागेको आरोप छ । 

साबिकको भेड्पु गाविसको वडा नम्बर १, २ र ३ का लागि संघीय सरकारबाट आएको क्रमागत योजनाको बजेट आफ्नो वडाध्यक्षलाई समेत थाहै नदिई अन्यत्रै सर्भे गर्न लागेपछि अरले खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोलेको नेतृत्वमा गत बिहीबार ज्ञापनपत्र बुझाउन गएका थिए । सो क्रममा उपभोक्ता र अध्यक्ष श्रेष्ठबीच भनाभन भएको थियो । पछि अध्यक्ष श्रेष्ठमाथि दुर्व्यवहार र हातपात गर्न खोजेको भन्दै पाँचजना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पनि अध्यक्षकै उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ  । दोलखाका प्रहरी प्रमुख रेवतीरमण पोखरेलले पक्राउ परेकाहरूलाई उद्दण्ड अपराधअन्तर्गत मुद्दा चलाएको बताए । 

गाउँपालिका अध्यक्ष श्रेष्ठले भने सो आयोजना अन्यत्र लान नखोजिएको बताए । खानेपानी अभाव भएका र केन्द्र सरकारले तोकेर पठाएका क्षेत्रमा सर्भे सुरु हुँदै गर्दा आफूमाथि दुर्व्यवहार भएको उनको भनाइ छ । मेलुङ गाउँपालिका– ४ भेड्पुका वडाध्यक्ष छत्रबहादुर तामाङले गाउँपालिका अध्यक्षको मनोपरी हदैसम्म भएको आरोप लगाएका छन् । उनले खानेपानी माग्न आएका जनतालाई मुद्दा लगाएर कानुनी शासनको उपहास गरेको प्रतिक्रिया दिए । 
 

सुझावित समाचार