लमजुङको राइनासमा फुड बैंक सञ्चालनमा आएको छ । निषेधाज्ञाका कारण काम गर्न नपाउँदा समस्यामा परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी राइनास–७ मा रहेको चेपे मर्स्याङ्दी युवा क्लबले फुड बैंक सञ्चालनमा ल्याएको हो ।
फुड बैंंकबाट गाउँका ६५ जनालाई निःशुल्क खाद्यान्न वितरण गरिएको क्लबका सदस्य सुरज गिरीले बताए । दैनिक ज्यालादारी गरेर बिहान–बेलुकाको छाक टार्नेहरूका लागि यसले राहत पुगेको उनको भनाइ छ । पहिलो चरणमा क्लबमा आबद्ध ४० जनाबाट राहत तथा खाद्यसामग्री संकलन गरी ५२ परिवारलाई र दोस्रो चरणमा १३ परिवारलाई फुड बैंकबाट खाद्यान्न वितरण गरिएको थियो । प्रतिपरिवार पाँच किलो चामल, एक किलो आलु, एक किलो दाल, नुन, तेल प्याज, साबुन र मन्जनसहितको प्याकेज बनाएर वितरण गरिएको गिरीले बताए ।
परिवारको संख्याका आधारमा प्रतिव्यक्ति एक/एकवटा मास्कसमेत वितरण गरिएको छ । दाताहरूबाट प्राप्त सामग्री संकलन गरी समस्यामा परेकालाई वितरण गरिने क्लबका अध्यक्ष मनबहादुर तामाङले बताए । निषेधाज्ञा अवधिभर वडाभित्रका विभिन्न स्थानमा पालैपालो फुड बैंक सञ्चालन गरी विपन्न वर्गलाई सहयोग गरिने उनको भनाइ छ । चेपे मर्स्याङ्दी युवा क्लबले लकडाउनको सुरुवाती दिनदेखि नै कोरोना संक्रमण न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम तथा र राहत वितरणका कार्य गर्दै आएको छ ।