एनसेल आजियाटा लिमिटेडले फोरजी ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरू ल्याएको हो ।
‘प्लस’ थिमअन्तर्गत ननस्टप अफरहरू नवीन र विशेष सेवाका साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएर ल्याइएको कम्पनीले जनाएको छ । योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप मज्जा लिन सक्ने जनाइएको छ । अर्थात्, जस्तै कुनै ग्राहकले सात दिनको ननस्टप टिकटक प्याक करबाहेक एक सय रुपैयाँमा सुचारु गरेमा ग्राहकले एक हप्ताभरि टिकटकको ननस्टप मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप चार जिबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् ।
युट्युबमा रहेका सामग्रीहरू मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको जनाइएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार करबाहेक २५ रुपैयाँमा एक दिनको समयसीमा रहेको यो प्याक सुचारु गर्न सक्ने जनाइएको छ । ग्राहकले चार जिबी बोनस डेटासहितको सात दिनको समयसीमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक करबाहेक एक सय ५० रुपैयाँमा र ३० दिनको समयावधि रहेको ६ जिबी बोनस डेटासहितको ननस्टप युट्युब प्याक करबाहेक तीन सय ६० रुपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ ।
सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकले ननस्टप प्याक सुचारु गरेपछि हरेक दिन पाँच सय एमबीका दरले सात दिनसम्म करबाहेक २० रुपैयाँमा ३५ सय एमबी थप डेटा लिन सक्ने जनाइएको छ । एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल ननस्टप प्रयोग गर्न पाइने र साथै इन्टरनेटमा अन्य सामग्री हेर्न पनि थप चार जिबी डेटा बोनस पाइने सुविधाले ग्राहकहरूमाझ ठूलो महत्व राख्ने बताए ।