केही सातादेखि लगभग सधैँजसो बढ्ने गरेको नेप्से परिसूचक सम्हालिनेक्रममा रहेको बिहीबारको कारोबारले देखाएको छ । १ हजार ५ सयको बिन्दु मनोवैज्ञानिक तह हुने भएकाले पनि लगानीकर्ता आक्रामक देखिएका छैनन् ।
यस दिन बजारमा कारोबार रकम ३७ प्रतिशतले घटेर २ अर्ब ६३ करोडमा सीमित भएको छ । यो औसत कारोबारभन्दा भने बढी नै हो । मुलुकमा लगानी क्षेत्र अभावमा खुला रहेको सेयर बजार एक मात्र विकल्प बनेपछि औसत कारोबार रकम २ अर्ब हाराहारी रहँदै आएको छ ।
परिसूचकमा समेत सुधार हुँदा बुधबार ५ महिना १० दिनयता यो तहमा नेप्से आइपुगेको थियो । बिहीबार नेप्से स्थिरजस्तै छ । यस दिन नेप्से परिसूचकमा शून्य दशमलव १५ अंकको गिरावट आएको हो । बिहीबार १ सय ८६ कम्पनीको ९३ लाख कित्ता सेयर किनबेच भएको छ ।
हाइड्रोमा खेल्दै लगानीकर्ता
लामो समयदेखि अंकित मूल्य (१ सय रुपैयाँ)भन्दा पनि तल रहेर कारोबार भइरहेका जलविद्युत् कम्पनीमा बुधबार १० प्रतिशतसम्म वृद्धि भएको थियो । तर, बिहीबार नै यसरी मूल्य बढेका कम्पनीहरूका लगानीकर्ताले गुमाएका छन् । बुधबार १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक लागेका ६ वटा कम्पनीहरूको मूल्य बिहीबार नै ओरोलो लागेको छ । लाभांश दिन समस्या परेको वा कम लाभांशका कारण यी समूहका सेयरमा लगानीकर्ता आकर्षित हुन सकिरहेका थिएनन् ।
बुधबार उच्च दरमा बढेका अपी, रिडी, पाँचथर पावर, न्यादी ग्रुप पावर, राधी र चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको हो । यिनमा अधिकांशको मूल्य अंकित मूल्य आसपास नै छ । तैपनि, लगानीकर्ता जलविद्युत्मा अंकित मूल्य हाराहारी मूल्य हाल्नसमेत तयार देखिएका छैनन् ।
सेयर बजारमा लगानी विविधीकरण अभाव रहेकाले भने जलविद्युत् कम्पनीहरूसमेत वृद्धिको बाटोमा देखिएका थिए । तर, यसले निरन्तरता पाउन सकेन । विविधीकरणका लागि बजारमा रहेका सीमित समूहमध्ये छानेर कुनै समय एउटा समूहमा र अर्को समय अरू समूहमा लगानी गरिरहेका देखिन्छन् । उच्च मूल्यनजिक पुगेर घट्न थालेका जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूको मूल्यमा बिहीबार पुनः सुधार देखिएको छ ।
अन्य कम्पनीहरूको मूल्य उच्च दरमा वृद्धि भइरहेकाले ती सेयर अधिमूल्य (ओभर भ्यालुड) हुन सक्ने भएपछि अंकित मूल्यभन्दा पनि कम रहेका जलविद्युत्मा समेत चलाख लगानीकर्ता खेल्न थालेका छन् ।
बिहीबार अर्थमन्त्रीको निरन्तरताका रूपमा डा. युवराज खतिवडाले निरन्तरता पाउन सक्ने वा नसक्ने विषयलाई समेत लगानीकर्ताले लगानी रणनीति बनाए । पहिलो सत्रसम्म खतिवडा दोहोरिन सक्ने खबरहरू आएपछि घट्न थालेको बजार ११ बजेर ४० मिनेट जान थालेपछि बढ्नेक्रममा देखियो, यद्यपि पटक–पटक तलमाथि गर्दै बुधबारकै बिन्दुमा आएर बजार बन्द भयो । बजार मनोवैज्ञानिक तहमा आएको खतिवडाको सम्भावित बहिर्गमनलाई चलाख लगानीकर्ताले यस दिन मुनाफा सुनिश्चित गर्ने र पुनः लगानी गर्ने रणनीतिमा समेत बदल्न पाएका छन् ।