गौतम बुद्धको समयमा भारतीय उपमहाद्विपमा तपस्वीहरूलाई धेरै मान–सम्मान गरिन्थ्यो । कैयौँ मानिस मान–सम्मानकै लागि पनि तप गर्थे । उत्तर भारतको एक गाउँमा पनि त्यस्तै एकजना मानिसले वर्षाैँ तप गरेर आफ्नो क्षेत्रवरपर ठूलो ख्याति कमाएका थिए । ती तपस्वीमा आफ्नो तप क्षमतालाई लिएर अभिमान पलाएको थियो । एक दिन गौतम बुद्ध आफ्ना शिष्यसहित सोही गाउँ हुँदै कतै जाँदै थिए । त्यस गाउँ पुगेपछि अन्धकार भयो ।
उनले नाविकलाई दुई पैसा हातमा दिए र तपस्वीतर्फ फर्किंदै भने ‘तिम्रो वर्षौंको तपको बलको मूल्य दुई पैसा रहेछ ।’
अगाडिको बस्ती धेरै टाढा भएको हुनाले बुद्ध र उनका शिष्यले सोही गाउँमा वास बस्ने निधो गरे । बुद्ध सो गाउँमा आएको चर्चा गाउँभर फैलियो । तपस्वीले पनि यो खबर सुने । ती तपस्वी सोधखोज गर्दै एकाबिहानै बुद्ध वास बसेको ठाउँमा पुगे । परिचय आदान–प्रदानपछि तपस्वीले आफ्नो वर्षौंको तपस्याको कुरा निकालेर आफू बुद्धभन्दा श्रेष्ठ रहेको घमन्ड गर्न थाले । तपस्वीले बुद्धविरुद्ध अनेक अपमानपूर्ण वचन प्रयोग गरे । बुद्धले तपस्वीका कुरा विनाप्रतिरोध शान्तसँग सुने । अन्तिममा बुद्धले तपस्वीको महानता स्विकार्दै त्यसको दृष्टान्त हेर्न चाहेको बताए ।
तपस्वीले बढो प्रफुल्ल भएर बुद्धलाई गाउँनजिकै रहेको विशाल नदीछेउ लगे । तपस्वीको तपको बल हेर्न नदीछेउमा बुद्ध र उनका शिष्यका अतिरिक्त गाउँले पनि भेला भइसकेका थिए । तपस्वीले आफ्नो तपको बल प्रयोग गरेर नदीको पानीमाथि हिँडेर नदी पार गरे । बुद्ध भने नाउ चढेर नदीपारि गए । तपस्वी नजिकै नाउ रोकेर उनले नाविकलाई दुई पैसा हातमा दिए र तपस्वीतर्फ फर्किंदै भने ‘तिम्रो वर्षौंको तपको बलको मूल्य दुई पैसा रहेछ ।’ बुद्धको यो वचन सुनेर तपस्वीलाई आफ्नो अहंकारको ज्ञान भयो र उनले बुद्धसँग क्षमा मागे ।