कुनै एउटा सहरमा एकजना साधु बस्थे । उनी दिनभर आश्रममा आएका भक्तजनलाई उपदेश दिने गर्थे । सोही सहरमा एक नर्तकी पनि बस्थिन् । उनी मानिसका अगाडि नाचेर उनीहरूलाई खुसी पार्ने काम गर्थिन् ।
एक दिन अचानक सहरनजिकको नदीमा भीषण बाढी आयो । बाढीमा परेर धेरैले ज्यान गुमाए । साधु र नर्तकीको पनि मृत्यु भयो । मृत्युपछि दुवै एकसाथ यमलोक पुगे । त्यहाँ उनीहरूको कर्म र त्यसका पछाडि लुकेको भावनाका आधारमा उनीहरूलाई स्वर्ग या नर्क पठाइने घोषणा गरियो । साधु आफूले स्वर्ग जान पाउनेमा विश्वस्त थिए । नर्तकीको मनमा भने यस्तो कुनै भावना थिएन । उनी केवल घोषणाको प्रतीक्षा गरिरहेकी थिइन् ।
एकैछिनमा साधुलाई नर्क र नर्तकीलाई स्वर्ग पठाउने घोषणा भयो । घोषणा सुन्नासाथ साधुले रिसाउँदै यमराजसित प्रश्न गरे– यो कस्तो न्याय हो महाराज ? मैले जीवनभर मानिसलाई असल कर्मका लागि उपदेश दिइरहेँ, तैपनि मलाई नर्क पठाइँदै छ । तर, यस नर्तकीले जीवनभर मानिसलाई खुसी पार्न उनीहरूका अगाडि नाचिरही । उसलाई चाहिँ स्वर्ग पठाइँदै छ । यस्तो अन्याय किन ?
यमराजले शान्त भावमा उत्तर दिए– हे साधु, यी नर्तकी आफ्नो पेट भर्नका लागि नाच्थिन्, तर नाच्दा जहिल्यै उनको मनमा आफूले आफ्नो कला ईश्वरलाई समर्पित गरिरहेको भाव हुने गर्थ्यो । जबकि तिमी उपदेश दिँदै गर्दा पनि यही सोच्ने गर्थ्यौ, मैले पनि ती नर्तकीको नाच हेर्न पाए हुन्थ्यो नि !
यमराजले अगाडि भने– हे साधु, मानिसको कर्मभन्दा पनि कर्म गर्नुको पछाडि लुकेको भावनाको बढ्ता महत्व हुन्छ भन्ने ईश्वरको सन्देशलाई तिमीले जीवनमा बुझ्ने प्रयत्न नै गरेनौ जस्तो छ । त्यसैले, तिमीलाई नर्क र यी नर्तकीलाई स्वर्ग दिनु बिल्कुलै न्यायसंगत छ ।