विश्वविद्यालय देशको भविष्य

विश्वविद्यालयलाई स्वार्थको कैदबाट निकालेर समाजको जति नजिक पुर्‍याउन सकिन्छ, त्यत्तिकै शैक्षिक उन्नयन हुन्छ

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

नेपालमा प्रचुर सम्भावना छन्, तर तिनको उपयोग गर्न हामीले जानेनौँ । फलस्वरूप हाम्रा अगाडि बगे्रल्ती समस्या मात्र देखिएका छन् । त्यसमा अहिले थपिएको कोभिड–१९ को महाव्याधिले सामाजिक एवं आर्थिक व्यवस्था तहसनहन बनाइदिएकाले अवस्था थप जटिल भएको छ । यस्तो अवस्थामा सम्भावनाको पहिचान र निदानको थालनी कहाँबाट गर्ने ? यसको सरल जवाफ हो, शिक्षाको सुधार । त्यसो नगरे हामी सुनको कचौरामा बसेको तन्नम देश हुन सक्छौँ । 

नेपालको राष्ट्रिय योजना आयोगले विदेशमा पढेका व्यक्तिलाई काममा ग्राह्यता दिने अघोषित नीति लिएको छ । अन्य कतिपय सरकारी कार्यालय एवं शिक्षण पेसामा समेत विदेशमा पढेका व्यक्तिलाई उच्च ग्राह्यता दिइन्छ । यसले हामी आफ्नो देशको शिक्षा प्रणालीप्रति विश्वस्त छैनौँ भन्ने देखाउँछ । जब मुलुकभित्रबाट उत्पादित जनशक्तिको आफ्नै देशभित्र यथेष्ट सम्मान र कदर हुँदैन भने विश्व बजारमा सहज बिक्न सक्ने वातावरण हुने कुरै भएन । यस्तोमा समाज र राष्ट्रको भविष्य पक्कै पनि अन्योलग्रस्त हुन्छ ।

व्यक्ति, समाज र राष्ट्रको भविष्य त्यहाँका नागरिकको शिक्षाले निर्धारण गर्छ । विद्यालय र विश्वविद्यालय शिक्षाका आधारशिला मात्रै होइनन्, मुलुकको मेरुदण्डसमेत हुन् । किनकि तिनै शिक्षालयले उत्पादन गरेको जनशक्तिको बलमा मात्रै मुलुक दह्रोसँग उभिन सक्छ । नेपालमा हाल १५ विश्वविद्यालय र स्वायत्त शैक्षिक प्रतिष्ठानमातहतका एक हजार ४०७ कलेजमा ३ लाख ६२ हजार विद्यार्थी शैक्षिक क्रियाकलापमा संलग्न छन् । (हे. शिक्षा दर्पण, २०१७) त्यसका अलावा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रहरूबाट हजारौँ जनशक्ति उत्पादन हुन्छन् । तर, सवाल यी प्रमाणपत्रधारी जनशक्तिले देशलाई जकडेका समस्यालाई चिर्दै सम्भावना खोज्न कत्तिको क्षमता राख्छन् भन्ने हो ।

इसापूर्व पाचौँदेखि बाह्रौँ शताब्दीसम्म अस्तित्वमा रहेको विश्वको पहिलो र उत्कृष्ट विश्वविद्यालय नालन्दा महाविद्यालयबाट धेरै कुरा सिक्न सकिन्छ । भारतको तात्कालीन मगध राज्य (हाल विहार)को राजगिरमा रहेको उक्त विश्वविद्यालयमा सातौँ शताब्दीताका लगभग दश हजार विद्यार्थी र दुई हजार शिक्षक एवं अन्वेषक आबद्ध थिए । उक्त विश्वविद्यालयमा विविध विषयमा अति उच्चकोटीका थुप्रै खोज–अनुसन्धान भएको तथ्य सातौँ शताब्दीमा त्यहाँ पुगेका चिनियाँ अन्वेषक भिक्षु झावोझाङको यात्रा वृत्तान्तमा उल्लेख छ ।

विश्वविद्यालय समुदाय र राज्यप्रति जिम्मेवार हुनुपर्छ, ताकि तिनको अधिकांश खर्च स्थानीय सरकारका अलावा सामाजिक अंग वा व्यक्तिबाट प्राप्त हुन सकोस् । यो प्रणालीको अनुसरण केही मुलुकले अवलम्बन गर्दै आएका छन् ।

तात्कालीन समाज र प्रकृतिबीचको सौहार्दपूर्ण सम्बन्धका कारण त्यो विश्वविद्यालय विशिष्ट थियो । त्यहाँ विश्वजगत्का बारेमा अध्ययन हुन्थ्यो । त्यसैले देशदेशान्तरका विद्यार्थी यहाँ पढ्न लालायित हुन्थे । इतिहासअनुसार नालन्दामा नौतले तीनवटा भव्य पुस्तकालयमा लाखौँ ग्रन्थ र शोधहरू संग्रहित थिए । नालन्दाको शिक्षाको प्रभाव भारतवर्षका अलावा एसियाका अधिकांश मुलुक र विश्वभर नै फैलिएको थियो । यहाँ अध्ययन गर्न ग्रिस, बेलायत, पर्सियादेखिका मानिस आइपुग्थे । सन् ११९३ मा टर्किस आक्रमणकारीहरूको हमलाबाट नष्ट भएको उक्त ज्ञानकेन्द्रमा संग्रहित शोध एवं ग्रन्थहरू सधैँका लागि नष्ट भए । ज्ञानको मुहान थुनियो, समाज प्रताडित भयो । नालन्दाले प्रसार गरेको शिक्षाको चेतलाई पछि औपनिवेशिक शिक्षाले प्रतिस्थापन गर्यो । 

विगतका तथ्य केलाउँदा शिक्षामा परिवर्तनका लागि पाँचवटा पक्षमा अविलम्ब पहलकदमी जरुरी देखिन्छ । पहिलो, विश्वविद्यालय शिक्षालाई विश्वपरिवेशका समसामयिक साझा मुद्दाको हल गर्ने सक्ने जनशक्ति उत्पादनको लागि तयार पार्ने (हे. नालन्दा, अक्सफोर्ड) । दोस्रो, देशको भौगोलिक, प्राकृतिक, सामाजिक एवं आर्थिक क्षेत्रका समस्याको समाधानका लागि राज्य, समुदाय र विश्वविद्यालयको संयुक्त पहलमा गुरुयोजना बनाउने (हे. क्यालिफोर्निया विकास गुरुयोजना) ।

तेस्रो, वैचारिक रूपमा दासता थोपर्दै आएका आयातित शिक्षा र संस्कृतिका अवशेषहरू नीति–निर्माण गर्ने तहदेखि विद्यालय र घरपरिवारबाट समेत हटाउने वातावरण बनाउने, त्यसको थालनी पाठ्यक्रममा समयसापेक्ष सुधारबाट गर्ने (हे.स्टान्ड्फोर्ड र जे.एन.यु, भारत)। चौथो, जीवनोपयोगी (प्राविधिक) शिक्षाको विकास गरी त्यसको सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, त्यसका लागि बन्द तथा खुला शिक्षा प्रणाली विकास गर्ने । पाँचौँ, क्षमतावान् व्यक्तिहरूलाई शिक्षण र अनुसन्धान पेसामा आकर्षित गर्ने । यी, पाँच पक्षलाई सन्तुलित ढंगले अगाडि बढाउन सकेमा शिक्षाको गुमेको साख फिर्ता ल्याउन पक्कै सहज हुन्थ्यो । 

नेपाल बुझेको नागरिक उत्पादन : नेपालमा उच्च शिक्षामा भर्नादर १४.९ प्रतिशत रहेको पाइन्छ, जुन विकासोन्मुख देशको (७.६ प्रतिशत) तुलनामा उच्च हो । यसले शिक्षाप्रति आममानिसको सरोकार देखिन्छ । तर, छिमेकी मुलुकहरू चीन (३८.३) र भारत (२६.३) का साथै विकसित मुलुकको तुलनामा भने यो दर कम हो । विद्यालय शिक्षा पूरा गरेका सबै विश्वविद्यालयको उच्च शिक्षामा समाहित हुनुपर्छ भन्ने छैन । उच्च शिक्षा उत्तीर्ण प्रतिशत बढाउनु मात्र समस्याको समाधान होइन । हरेक वर्ष नेपालमा जन्मिने पौंने ६ लाख बलबालिकाका लागि आवश्यक पर्ने गुणस्तरीय जीवनोपयोगी (प्राविधिक) शिक्षाको अवसर प्रदान गर्न जोड दिनुपर्छ । हालको शिक्षा प्रणालीले उच्च शिक्षामा भर्नाको दर बढाउला, तर नेपाल बुझेको नागरिक उत्पादन गर्न भने सक्ने देखिँदैन । यसका लागि राज्य पुनर्संरचनापश्चात खडा भएका सात प्रदेशको मौलिक विशेषतालाई बुझेर स्थानीय सवालमा स्पष्ट दिशानिर्देश गर्न सक्ने उच्च शिक्षाको पाठ्यक्रम निर्माण गर्न र सिकाइ विधिमा परिवर्तन आवश्यक छ । 

आधुनिक विश्वविद्यालयले नालन्दा विश्वविद्यालयबाट तीनवटा कुरा सिक्न सक्छन्– शिक्षण र अन्वेषणका विषयको विविधता र त्यसको आयतन, ज्ञानको विशिष्टता अनि समुदायको प्रत्यक्ष सहभागिता र योगदान (शैलेन्द्र कुमार, पुस्तक विल्डिङ गोल्डन इन्डिया, २०१५)। विश्वविद्यालय संस्था मात्र होइन, ती जीवन्त समाज बन्नुपर्छ । त्यहाँ स्थानीय वा राष्ट्रिय सरोकारका विषयमा अध्ययन र समस्या समाधानको पहलकदमी हुनुपर्छ । तर, यो कार्यभार कसैको सद्भाव र भागबन्डाबाट नियुक्तिमा आएका नीति–निर्माता (पदाधिकारी) एवं शिक्षकबाट पूरा हुन सक्दैन ।

विश्वविद्यालय समुदाय र राज्यप्रति जिम्मेवार हुनुपर्छ, ताकि तिनको अधिकांश खर्च स्थानीय सरकारका अलावा सामाजिक अंग वा व्यक्तिबाट प्राप्त हुन सकोस् । यो प्रणालीको अनुसरण केही मुलुकले अवलम्बन गर्दै आएका छन् । नालन्दा विश्वविद्यालयपछि एघाराँै शताब्दीमा खुलेको बोलोग्ना र अक्सफोर्ड विश्वविद्यालय आदिले पनि यसै नीतिलाई अनुसरण गरेको इतिहास छ । नेपालमा ०६४ मा स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि चिकित्सा विज्ञानको अध्ययनमा केही समुदायकेन्द्रित प्रयासको थालनी गरेको छ । 

नेपालको शिक्षा प्रणालीमा विचलन आउँदा शिक्षाका नाममा साक्षर उत्पादन हुन थाले । फलस्वरूप उत्पादित जनशक्ति बेरोजगार हुने र देशमा सञ्चालित सीमित उद्योग व्यवसाय र सेवाक्षेत्रमा समेत सात लाखको हाराहारीमा विदेशी जनशक्ति कार्यरत रहने अवस्था व्यहोर्नुपरेको छ । बाहिरबाट ल्याइएका जनशक्तिले देशको आवश्यकता बुझेर समाधानका प्रयास गर्ने अपेक्षा राख्न सकिन्न । त्यसका लागि देशभित्रका शैक्षिक प्रतिष्ठानहरूको पाठ्यक्रम र शिक्षण सिकाइलगायत आमूल सुधारको थालनी आवश्यक छ । यो मार्गले मात्रै दिगो विकासको बाटो पहिल्याउँछ । शैक्षिक संस्थाहरू पनि अन्तर्राष्ट्रियस्तरका बन्न सक्छन् । हाम्रा शिक्षालय अगतिला हुने, तर देश समृद्धिको दिशामा जाने भन्ने हुन सक्दैन । हाम्रो शिक्षा प्रणाली र शैक्षिक संस्थाहरूको अनुहार मुलुकको समग्र चित्र र चरित्रमा प्रतिबिम्बित हुने हो । 

सामाजिक विकासको गुरुयोजना : विश्वका थुप्रै सहर र समुदायले सर्वांगीण विकासको दीर्घकालीन गुरुयोजना बनाएको पाइन्छ । युरोप अमेरिकादेखि एसियाका कैयाैँ स्थानको विकासमा समुदाय र स्थानीय सरकारसँगको साझेदारीमा विश्वविद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसको सिको गर्दै नेपालले पनि सातै प्रदेशको प्राकृतिक, सामाजिक, आर्थिक, मानव स्रोतसाधनलगायत सवालहरूको विश्लेषण गरी विकासको दीर्घकालीन गुरुयोजना बनाउनु आवश्यक छ । लाखौँ–करोडौँ खर्च गरेर बहुरूपी योजना बनाउनुको सट्टा त्यहाँका विश्वविद्यालयको अगुवाइमा स्थानीय सरकार, समुदाय र सहयोगी निकायको संयुक्त पहलमा योजना तयार पारिनुपर्छ । यसको जिउँदोजाग्दो उदाहरणको रूपमा अमेरिकाको क्यालिफोर्निया विकास गुरुयोजनालाई लिन सकिन्छ । 

पाठ्यक्रम सुधार : कतिपय विश्वविद्यालयले धार्मिक अतिवाद तथा अन्यखाले वैचारिक दासता थोपर्दै आएका छन् । प्रबुद्ध शिक्षाविद् तथा दार्शनिकहरूले त्यसको विरोध पनि गर्दै आएका हुन् । फलस्वरूप विश्वका कैयौँ अल्पविकसित एवं विकासोन्मुख मुलुक शैक्षिक उपनिवेश बन्न पुगेका छन् । यसबाट मुक्त हुन पाठ्यक्रममा समसापेक्ष सुधार गर्नुपर्छ । भनिन्छ, विनायुद्ध देशलाई नष्ट पार्नु छ भने त्यहाँको शिक्षा प्रणालीलाई नष्ट गरिदिनुपर्छ । शैक्षिक औपनिवेशबाट मुक्तिका लागि आयातित शिक्षा र संस्कृतिका अवशेष मेटाउने क्रमको थालनी विश्वविद्यालयले गर्न सक्छन् । उदाहरणका लागि अमेरिकाको स्टान्ड्फोर्ड विश्वविद्यालय र भारतको जवाहरलाल नेहरू विश्वविद्यालयलाई लिन सकिन्छ ।

स्टान्ड्फोर्ड विश्वविद्यालय पूर्ण धार्मिक शैक्षिक प्रतिष्ठानबाट सन् १९४० मा विश्वविद्यालयमा रूपान्तरित भएको थियो । निरन्तर शैक्षिक उन्नयन गर्दै यो विश्वविद्यालय विश्वका पाँच उत्कृष्टभित्र पर्न सफल छ । यस क्रममा त्यहाँका शिक्षक र विद्यार्थीले करिब ४० हजार व्यावसायिक प्रतिष्ठान स्थापना गरी ५४ लाख रोजगारी सिर्जना गरेको र वार्षिक २.७ ट्रिलियन डलरको आम्दानी गर्ने गरेको तथ्य सन् २०१२ मा प्रकाशित अध्ययनले देखाउँछ । स्टान्ड्फोर्ड विश्वविद्यालयका शिक्षक फ्रेड टरम्यानलाई आजको सिलिकन भ्यालीका पिता मानिन्छ । प्रविधि क्षेत्रका गुगल, सिस्को, याहु, इन्स्टाग्राम, तेस्ला आदिको बीजारोपण त्यसै विश्वविद्यालयको कक्षाकोठामा भएको मानिन्छ । यो लोभलाग्दो उपलब्धि अन्य विश्वविद्यालयको हकमा पनि सम्भव छ । तर, त्यसका लागि शिक्षक–विद्यार्थीको समर्पण अनि नीति–निर्माता, राज्य र समुदायको भरपर्दाे सहकार्य आवश्यक पर्छ । 

सहज शिक्षा प्रणाली : जीवनोपयोगी (प्राविधिक) शिक्षाको विकास गरी त्यसको सर्वव्यापी पहुँच सुनिश्चित गर्ने सहज शिक्षा प्रणालीको आवश्यकता रहेको कुरा विश्वमा एकपछि अर्को थपिँदै आएका समस्याले उजागर गर्दै लगेका छन् । विश्वभर खुला विश्वविद्यालयको लहर चलेको छ । नेपालमा पनि ०७३ देखि खुला विश्वविद्यालय सञ्चालनमा छ । कोभिडको महामारीपश्चात् यस प्रकारको शिक्षाको थप व्यापकता हुने देखिँदै छ । यस क्रममा विश्वका प्रतिष्ठित (प्राविधिक) विश्वविद्यालयले पनि दूरशिक्षाका माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र त्यसलाई निरन्तरता दिने बताउँदै छन् । विज्ञान र प्रविधिको उच्चतम विकास र विस्तार भएको वर्तमान अवस्थामा शिक्षा लिन र दिन भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता तोडिइसकेको छ । यसर्थ, शिक्षा लिने र दिनेबीचको सहकार्य र सम्झौताअनुसार शिक्षालाई विविधीकरण गर्दै लैजान सक्नुपर्छ । 

शिक्षण पेसाप्रतिको आकर्षण र सामाजिक मर्यादा : कुनै विषयमा दक्षता हासिल गरेका क्षमतावान् व्यक्तिलाई शिक्षकको रूपमा आकर्षण गर्न सक्दा नै शिक्षाको गुणस्तर सुध्रिन्छ । शिक्षक एक रोजगारीभन्दा पनि सम्मानजनक जीवन जिउने कला विकास र विस्तार गर्ने थलो हो । तर, अधिकांश अल्पविकसित एवं विकासोन्मुख देशमा शिक्षक पेसाप्रतिको आकर्षण कम हुँदा शिक्षाको स्तर सुध्रिन सकेको छैन । यसको सफल उदाहरणमा दक्षिण कोरिया, सिंगापुर चीनलगायत मुलुकलाई लिन सकिन्छ । यी मुलुकमा शिक्षक पेसा राजनीतिक उच्च निकायका मन्त्री वा सांसदभन्दा उच्च मर्यादित र आकर्षक छ ।

अन्तमा, नेपालका बहुसंख्यक युवा उज्ज्वल भविष्यको खोजीमा जस्तोसुकै योगदान गर्न तम्तयार छन् । यो अवस्थामा राज्य र समाजले उनीहरूलाई व्यावसायिक दक्षतासहितको शिक्षा र उक्त ज्ञानलाई व्यवहारमा उतार्ने उपयुक्त अवसर दिनुपर्छ । व्यावसायिक उच्च शिक्षा नै देश र समाजको अग्रगमनको ढोका हुनेछ । विभिन्न प्रभाव र स्वार्थको कैदबाट विश्वविद्यालय निकालेर जति समाजको नजिक पुर्याउन सकिन्छ, त्यहाँ शैक्षिक उन्नयन हुने वातावरण तयार हुँदै जानेछ र समाज विकासको मार्गमा पुग्न सक्छ । 

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राध्यापक हुन् ) 

सुझावित समाचार