आफूले पालेका कुखुरा मरेर फर्म नै खाली भएपछि बिदेसिएका रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारका २८ वर्षीय कमल ज्ञवालीलाई फेरि कृषि कर्ममा फर्कौँला भन्ने आसै थिएन । ०६७ सालबाट व्यावसायिक कुखुरापालन गरेका ज्ञवालीका ०७१ सालमा १ हजार २ सय कुखुरा एकैचोटि मरे ।
प्रहरी मुचुल्का गरेर ल्याबमा पठाए । रिपोर्टमा विषका कारण मरेको देखियो । त्यसपछि कमलले सोचे, ‘गाउँकाले गरेर खान दिँदैनन् ।’ कहीँकतैबाट एक रुपैयाँ क्षतिपूर्ति पनि पाएनन् । गाउँमा क्रृणधन गरेर चलाएको फर्म नै बन्द भएपछि ०७२ सालमा उनी दुबई गए । तीन वर्ष काम गरे । ०७५ सालमा एक छुट्टी आएर फेरि फर्किए । दुवैमा कामसँगै दाम पनि राम्रो थियो । तर, वर्ष दिन नपुग्दै गत वर्ष गाउँ फर्के ।
१८ हजार बिरुवा नष्ट हुँदा पनि हिम्मत हारेनन्
होटेल म्यानेजमेन्ट अध्ययन गरेका ज्ञवालीले गाउँ आएपछि बुटवलमा होटेल व्यवसाय गर्ने योजना बनाए । आवश्यक प्रबन्ध मिलाइसकेको उनको अचानक पैँचो पसलका सञ्चालक ध्रुव न्यौपानेसँग भेट भयो । त्यो भेटले नै कमलको कृषि कर्मप्रति उत्साह जगायो । न्यौपानेले उनलाई उत्साह मात्रै दिएनन्, थोपा सिँचाइ र टनेल दिएर काममा उत्प्रेरित गरे ।
उनले गत वर्ष ३५ रोपनी बारीमा साढे २६ हजार टमाटरका बिरुवा रोपे । १० वटा टनेलमा १ हजार २ सय र बाहिर २५ हजार बिरुवा थिए । निकै राम्रोसँग बिरुवा हुर्किएकाले कमलले राम्रो आम्दानीको आस पनि गरेका थिए । तर, वर्षा अत्यधिक भएकाले १८ हजार बिरुवा पूरै नष्ट भए । बाहिर रोपेका बिरुवाहरूले खासै उत्पादन दिएनन् । टनेलभित्रबाट ६५ क्विन्टल टमाटर बेचे । बाहिरबाट ३०–३५ क्विन्टलभन्दा बढी उत्पादन नभएको उनले सम्झिए । पानी परिरहेकाले ज्ञवालीको टनेलमा पनि अझै थुप्रै टमाटर कुहिएर नष्ट भइरहेका छन् । तर, यसबाट हरेस खानेभन्दा पनि आत्मबल थपिएको ज्ञवाली बताउँछन् ।
परिवार नै कृषिमा
कमल आफू मात्रै कृषिमा होमिएका होइनन् । उनको परिवार नै कृषि कर्ममा छ । कमलले आफू परदेशबाट फर्केर व्यावसायिक कृषि थालेपछि २० वर्षदेखि परदेशमा काम गरेका बुबा ४९ वर्षीय लक्ष्मण ज्ञवाली पनि घर फर्किए । आमा लक्ष्मी ज्ञवालीले धेरै पहिलेदेखि नै गाउँमा तरकारी खेती गर्थिन् । अहिले भाइ र बुहारी पनि कमलका साथमा छन् ।
बिहान ६ बजेदेखि पूरै परिवार नै टमाटरकै स्याहारसुसारमा व्यस्त छन् । उनी भन्छन्, ‘जनशक्ति छैन, बिहानदेखि बेलुका आफैँ काम गर्छौँ । काम गरेपछि नाफा–घाटा सहनुपर्छ, नाफा मात्रै हेरेको भए टनेल र बारीमा कुहिएका टमाटर देखेर अहिले नै काम छोड्थ्यौँ ।’ बलेटक्सारमा बजारको समस्या छैन । उत्पादन गर्न सके ३२ रुपैयाँका दरले पैँचोले टमाटर लैजाले गरेको भाइ कोपिल ज्ञवालीले बताए । आफूलाई पनि कृषि क्षेत्र मन पर्ने भएकाले टमाटरसँगै व्यावसायिक बाख्रापालनको काम पनि अगाडि बढाएको उनको भनाइ छ ।