देशभर ४०,००० कोरोना संक्रमित

बुधबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

एकैदिन १,०६९ मा संक्रमण, मृतकको संख्या २३९ पुग्यो, लक्षण भएका २५ प्रतिशत संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण सुरु भएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ६९ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ४० हजार पाँच सय २९ पुगेको छ । 

मंगलबार काठमाडौं उपत्यकामा चार सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय पाँच पुगेको छ । काठमाडौंमा पाँच हजार १५, ललितपुरका सात सय ४३ र भक्तपुरमा पाँच सय ४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेहरूको संख्या दुई सय ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पर्साका तीन, काठमाडौं र महोत्तरीका दुई–दुई, बारा, सिराहा, चितवन र मकवानपुरका एक–एकजनाको ज्यान गएको छ । 

स्वास्थ्य मन्त्रालयले समुदायमा संक्रमण फैलिएको जनाउँदै जनता आफैँ सचेत बन्नुपर्ने बताएको छ । अफै पनि ठूलो संख्यामा मानिसहरूले मास्कको प्रयोग नगरेको तथा गरे पनि उपयुक्त तरिकाले नलगाउने गरेको जनाएको छ । सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरे पनि संक्रमितको संख्या दैनिक बढिरहेको छ । त्यसमा पनि काठमाडौं उपत्यका उच्च जोखिममा परेको चिकित्सकहरूले बताएका छन् । सक्रिय संक्रमित रहेका ७५ जिल्लामध्ये काठमाडौंमा दैनिक संक्रमण धेरै रहेको छ । 

कस्तो छ नेपालको अवस्था

- निको भएको : २२,१७८
- सक्रिय संक्रमित : १८,११२
- होम आइसोलेसनमा : ७,२८०
- संस्थागत आइसोलेसनमा : १०,८३२
- २४ घन्टामा डिस्चार्ज : ७६८    
- पिसिआर परीक्षण : ७,०५,५६०
- २४ घन्टामा पिसिआर परीक्षण : १२,०८८
- क्वारेन्टाइनमा भएका : ७,३९०

कोरोना लक्षण भएका २५ प्रतिशत संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म मृत्यु भएका दुई सय २८ जनामध्ये एकचौथाइ कोरोनाको लक्षण देखिएका संक्रमित रहेको पाइएको छ ।पहिलोपटक नेपालमा ४ जेठमा संक्रमितको मृत्यु भएको थियो । त्यसयता क्रमशः मृत्युदर बढ्दै गएको छ । सुरुवातका दिनमा ५० वर्षभन्दा कम उमेर समूहको मृत्यु बढी देखिएको थियो भने अहिले वृद्धवृद्धाको मृत्युदर बढेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म मृत्यु भएकाहरूको तथ्यांक विश्लेषण गरेको छ भने मंगलबार थपिएका मृतकको विस्तृत विवरण आउन बाँकी छ । मन्त्रालयका अनुसार सोमबारसम्म मृत्यु भएका दुई सय २८ मध्ये २५ प्रतिशत लक्षण भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार ५७ जना लक्षणसहितका संक्रमितको मृत्यु भएको छ । 

त्यस्तै, कोरोनाबाट मृत्यु भएका अन्य संक्रमित भने विभिन्न जटिल रोग लागेकाहरू छन् । मृतकमा मुटु, मिर्गौला, क्यान्सर, मधुमेहजस्ता रोग लागेका संक्रमित धेरै रहेको देखिएको छ । लक्षण नदेखिए पनि त्यस्ता संक्रमितका शरीरका अंगहरू कोरोना भाइरसले चाँडो खराब हुने गरेको चिकित्सकहरू बताउँछन् । 

आठ महिनापछि आएर कोरोनाले नेपालमा रूप परिवर्तन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसले रूप परिवर्तन अर्थात् कडा भएर आएकाले मृत्युदरमा छिटो वृद्धि भएको बताए । 

त्यस्तै, कोरोना भाइरसले रूप परिवर्तन गरेसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको सहायता चाहिने संक्रमित पनि दैनिक बढ्दै गएका छन् । कोरोना संक्रमितको मृत्युदरलाई कम गर्ने उद्देश्यले परीक्षणमा रहेका औषधि रेम्डिसिभिर र प्लाज्मा थेरापी विधि पनि प्रयोग गरेर उपचार भइरहेको छ । त्यस्तै, आयुर्वेदिक औषधि पनि संक्रमितको उपचारमा प्रयोग गरिएको छ । 

See More On

सुझावित समाचार