दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षसम्म अलपत्र

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

सरावल गाउँपालिकाको धनेवामा दुई वर्षमा निर्माण सक्ने गरी सुरु भएको पक्की पुल आठ वर्षदेखि अलपत्र अवस्थामा छ । सरावल गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने पुल निर्माण ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको आरोप छ । 

आठ वर्षसम्म पनि निर्माण सम्पन्न नहुँदा वर्षाको समयमा सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय नन्दु यादवले बताए । पुल निर्माणको ठेक्का ०६९ असार मसान्तमा भएको थियो । सम्झौताअनुसार ०७१ साल असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने हो । पुल निर्माणको ठेक्का मदन अधिकारी सञ्चालक रहेको मैनाचुली निर्माण सेवाले लिएको थियो । 

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीका अनुसार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम छोडेको एक वर्षभन्दा बढी भइसकेको छ । उनले पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न प्रदेश सांसद, मन्त्रालयमा अनुरोध गरेको बताए । 

पुलको मुख्य भाग निर्माण सकिए पनि दायाँबायाँ पर्खाल उठाउन र पुललाई बाटोसँग जोड्ने काम अलपत्र छ । जसले गर्दा प्रयोगमा आउन नसकेको सरावल गाउँपालिका– ६ का वडाध्यक्ष कैलाश यादवले बताए । 

यो पुल तीन करोड ७१ लाखमा निर्माणको जिम्मा मैनाचुली निर्माण सेवाले लिएको हो । तत्कालीन भैतिक निर्माण तथा यातायात पूर्वाधारमन्त्री हृदयेश त्रिपाठीले पुलको शिलान्यास गरेका थिए ।  
 

सुझावित समाचार