पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् आज भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड– १९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसिआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक पाँच सय यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।

नेपालमा बन्दाबन्दी सुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यसबीचमा कुनै पनि व्यावसायिक उडान भएनन् ।

विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुवैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरू भए । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो । बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार एक सय १५ यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार एक सय ९६ जना यात्रु बाहिरिएका छन् ।

कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार पाँच सय ४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार आठ सय ४४ कार्गो विदेश पठाइएको छ । यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुवै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पिसिआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ ।

पिसिआर सहज नभएका मुलुकहरू कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ । यस्तै पिसिआर टेस्ट सहज नभएका मुलुकहरूमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

पहिलो उडान निगमको नारितामा
नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने आज पहिलो दिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को एक मात्र उडान तालिका रहेको छ । निगमको वाइडबडी जहाजले आज राति १ बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।

नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउनेछ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ । रासस
 

सुझावित समाचार