इलाम । सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालू आर्थिक वर्षको साउनदेखि मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २५० रुपैयाँबराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।
सो अवधिमा गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरूमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ , जुत्ता, चप्पल तथा मदिराजन्य पदार्थलगायतका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमध्ये १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ , २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता, चप्पल, ५७० किलो फर्सीको बियाँ लगायतका सामान तथा चौपाया रहेका छन् ।
उक्त सामानहरू सूर्योदय नगरपालिकाअन्तर्गत मानेभन्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभन्ज्याङ र बिओपी छब्बिसेसहितको संतुक्त टोलीले बरामद गरेको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको गुल्मले जनाएको छ।
गुल्मको प्रमुखमा डिएसपी शैलेन्द्र थापा छन्। उत्कृष्ट काम गरेकोमा विगतमा पनि उनी पटक–पटक पुरस्कृत भएका छन्।