अछाम । स्वास्थ्यमा जटिल समस्या देखिएपछि अछामको मंगलसेनकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। मंगलसेन नगरपालिका– ४ की २६ वर्षीया खिना बुढालाई थप उपचारका लागि मंगलबार हेलिकाेप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पठाइएको हो।
कात्तिक २९ गते जिल्ला अस्पताल अछाममा सामान्य प्रसूति (नर्मल डेलिभरी) भएकी खिनालाई डिस्चार्ज गरी घर पठाइएको थियो। तर, उनको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकाेप्टरमार्फत सुर्खेत पठाइएको अछामका प्रहरी प्रमुख डिएसपी पविन्द्र बमले बताए।
मंगलसेनस्थित नेपाली सेनाको गोरखबक्स गणबाट हेलिकाेप्टरमार्फत सुर्खेत पठाइएकी खिनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरिएको हो।