काठमाडौं–हेटौँडा चल्ने सवारीलाई समयसीमा, राति ८ बजेभित्र फर्पिङ चेकपोस्ट पुग्नुपर्ने

शुक्रबार, २७ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै उक्त रुटमा चल्ने सवारीसाधनका लागि नयाँ व्यवस्था लागू गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने जनाएको छ। यसैगरी, बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

कार्यालयले सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ। सवारीको यान्त्रिक अवस्था ठिक नरहेका, चालकको लापरबाही, तीव्र गति, साँघुरा तथा घुम्ती सडक र रातको समयमा अँध्यारो सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै प्रशासनले नयाँ व्यवस्था गरेको जनाएको छ।

पछिल्लो समय काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति अत्यन्त भयावह र पीडादायी भइरहेको प्रशासनले उल्लेख गरेको छ।

तीव्र प्रतिस्पर्धा, अनिद्रा, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउलेजस्ता गतिविधिले सर्वसाधारणको ज्यान जोखिममा परेको प्रशासनले जनाएको छ।

प्रशासनले सवारीसाधनको अवस्था र सञ्चालन मापदण्ड पालना भए–नभएको अनुगमन गर्न काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई कडाइका साथ खटाइने जनाएको छ।

सुझावित समाचार