धमाधम भ्रातृ संगठनका नेतृत्व चयन गर्दै देउवा समूह

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • महाधिवेशन आउन एक महिना पनि बाँकी हुँदा नेविसंघ, तरुण दल र सांस्कृतिक महासंघमा नयाँ नेतृत्व

काठमाडाैं- कांग्रेसको शेरबहादुर देउवा समूहले तल्ला तहका अधिवेशनका साथै मुख्य भ्रातृ संगठनहरूमा धमाधम मनोनयन गरेको छ । देउवा समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेविसंघ, तरुण दललगायत मुख्य भ्रातृ संगठनको नेतृत्व मनोनीत गरेका हुन् । नेविसंघ अध्यक्षमा पर्वतकी सिर्जना मल्ल, तरुण दल अध्यक्षमा काभ्रेका दिल लामा मनोनीत भएका छन् । नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा प्युठानका अर्जुन गिरीलाई मनोनयन गरिएको छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) धारा ४२ (१) (च) बमोजिम अध्यक्ष मनोनीत गरिएको १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति सचिवालयका संयोजक दीपक कुइँकेलले जानकारी दिए । भ्रातृ संगठनलाई थप व्यवस्थित र मजबुत बनाउनुपर्ने जिम्मेवारी दिइएको उनको भनाइ छ । महाधिवेशनमा भ्रातृ संस्थाबाट पनि प्रतिनिधित्व हुन्छ । भ्र्रातृ संगठनलाई व्यवस्थित बनाउन नेतृत्वमा मनोनयन गरिएको हो । नेतृत्वलाई अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ,’ उनले भने ।

देउवा समूहले आगामी २१, २२ र २३ मंसिरमा १५औँ महाधिवेशन गर्ने गरी तयारी तीव्र बनाएको छ । महाधिवेशनअघि वडा, पालिका र निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन गरिरहेको छ । पार्टीको आधिकारिकता विवाद भने सर्वोच्च अदालतमा विचाराधीन छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले गत असोजमै १५औँ महाधिवेशन गरिसकेको छ । देउवा समूहले पनि खुलामञ्चमै महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनस्थल बुक भइसकेको कुइँकेलले बताए । 

उनका अनुसार हालसम्म करिब ६ हजार सात सय वडा, ६५० पालिकामा अधिवेशन सम्पन्न भएको छ । २६४ प्रदेश सभा निर्वाचन क्षेत्र र १३२ संघीय निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ । काठमाडौंसहित ३९ जिल्लामा अधिवेशन भएको छ । 

तल्ला तहका अधिवेशन सम्पन्न गर्न ढिलाइ भएका ठाउँमा जिल्ला अधिवेशन हुन बाँकी रहेको कुइँकेलले बताए । ‘वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन गर्न दिएका छौँ । कहीँ वडा अधिवेशन नभएर, कहीँ पालिका अधिवेशन नभएर र कहीँ क्षेत्रीय अधिवेशन नभएर जिल्ला अधिवेशन हुन सकेको छैन । कतिपय जिल्लाहरूले १ मंसिरसम्मको समय मागेको अवस्थामा छ । त्यसैले १–२ मंसिरसम्म जिल्ला अधिवेशन सम्पन्न गर्छौँ । महाधिवेशनअघि आगामी ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने देउवा समूहको कार्यतालिका छ ।

संस्थापन कांग्रेसले छठपछि जिल्ला र प्रदेश अधिवेशन अघि बढाउने
सानेपाले छठपछि जिल्ला र प्रदेश अधिवेशन अघि बढाउने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले छठपछि जिल्ला र प्रदेश अधिवेशनको तयारीमा लाग्ने बताए । ‘छठपछि जिल्ला र प्रदेश अधिवेशनको काम अघि बढ्छ । वडा, पालिका, क्षेत्र हुँदै १५औँ महाधिवेशन सम्पन्न भइसकेको छ । अब जिल्ला र प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गछौँ,’ खड्काले भने । गत असोजमा भएको महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको छ । समय अभावको कारण देखाउँदै जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

शेखर कोइरालाले देशव्यापी एकता अभियान थाल्ने
nullकांग्रेसमा समानान्तर महाधिवेशनको तयारी हुँदै गर्दा वरिष्ठ नेता शेखर कोइराला तटस्थ देखिएका छन् । उनलाई निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, नेता बलबहादुर केसी र केन्द्रीय सदस्यहरू सञ्जय गौतम र सरिता प्रसाईंले साथ दिएका छन् । केन्द्रमा थोरै नेता भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकताको पक्षमा उल्लेख्य नेता तथा कार्यकर्ता रहेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । ‘दुइटा महाधिवेशनले पार्टी विभाजित गर्ने भयो । दुइटामध्ये कतै उभिन्नौँ भन्ने नेताहरू गत असोजको महाधिवेशनमा सहभागी हुनुभएन, अब मंसिरको महाधिवेशनमा पनि सहभागी हुनुहुन्न,’ उनले भने ।

शेखर कोइराला पक्षका केही नेता भने गत असोजको महाधिवेशनमा सहभागी भएका थिए । केही नेता देउवा समूहमा लागेका छन् । ‘केही अघिल्लो महाधिवेशनमा सहभागी हुनुभयो, धेरै संख्यामा डा. शशांक संयोजक रहेको समूहमा लाग्नुभएको छ जिल्ला–जिल्लामा । कतिपय जिल्ला सभापति नै भएर आउनुभएको छ । डा. साबले स्वविवेकले निर्णय गर्नु भन्नुभएको छ,’ थपलियाले भने ।

शेखर भने कुनै पनि पक्षमा नलागी पार्टी एकताको अभियान सञ्चालन गर्ने तयारीमा छन् । देउवा समूहको महाधिवेशन सम्पन्न भएपछि देशव्यापी अभियानमा जाने तयारी उनको छ । ‘डा. साब अघिल्लो महाधिवेशनमा सहभागी हुनुभएन, अबको महाधिवेशनमा पनि सहभागी हुनुहुँदैन । उहाँ पार्टी एकताकै पक्षमा उभिनुभएको छ । फुटेको पार्टीको एकातिर लाग्नु राम्रो हुँदैन, ढिलोचाँडो एकता गर्नैपर्छ भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ,’ थपलियाले भने ।

सुझावित समाचार