- १८ वर्षीय चालक प्रहरी नियन्त्रणमा
नवलपुर- नवलपुरको हुप्सेकोटमा तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। हुप्सेकोट गाउँपालिका–३ देउरालीमा बिहीबार साँझ भएको दुर्घटनामा ४८ वर्षीय कमल गाहाको मृत्यु भएको हो।
गिरुबारीबाट बेलाहानीतर्फ जाँदै गरेको ना.३६ प २४२८ नम्बरको मोटरसाइकलले बिहीबार साँझ बाटोमा हिँडिरहेका गाहालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो।
अवस्था गम्भीर भएपछि थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक हुप्सेकोट–३ बेलाहानीका १८ वर्षीय पुषण खाँण ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।