कोशी प्रदेशमा आजदेखि नेपालीसहित १४ भाषा सरकारी कामकाजमा प्रयोग

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण
  • किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर मुख्यमन्त्री कार्कीले गरे कार्यान्वयनको घोषणा, नेपालीसहित १४ भाषामा सरकारी कामकाज गर्न सकिने

विराटनगर । कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

किराँत धर्मगुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा आएको घोषणा गरेका हुन्।

याेसँगै कोशी प्रदेशमा नेपालीसहित १४ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी बाटो खुलेको छ। अब प्रदेशमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा, सन्थाल र राई भाषा सरकारी कामकाजमा प्रयोग गर्न सकिनेछ।

मुख्यमन्त्री कार्कीले यसलाई कोशी प्रदेशका लागि महत्त्वपूर्ण उपलब्धि भन्दै यसले विभिन्न जातजाति, भाषा र संस्कृतिको पहिचानलाई सम्मान गर्दै विविधतालाई एकतामा बाँधेर अघि बढ्न प्रेरणा दिने बताएका छन्।

कोशी प्रदेशसभाले गत असोज २४ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख परशुराम खापुङबाट कात्तिक ११ गते प्रमाणीकरण भई कात्तिक १२ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। ऐनमा भाषिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि विज्ञ समूह गठन गर्ने तथा स्थानीय तहले पनि आफ्नो क्षेत्रमा बोलिने भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ कानुनी व्यवस्थाले मातृभाषालाई सरकारी कामकाजमा प्रवेश गराउने बाटो खोले पनि प्रभावकारी कार्यान्वयनका लागि सरकारी कार्यालयमा भाषिक जनशक्ति व्यवस्थापन, अनुवाद, सूचना तथा प्रशासनिक कागजातको तयारी गर्नुपर्ने चुनौती रहेको छ।

सुझावित समाचार