मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजालाई धार्मिक आस्था र परम्परामा मात्र सीमित नराखी महिला सम्मान तथा नारी शक्तिको महत्त्वसँग जोड्नुपर्ने बताएका छन् ।
तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले घरपरिवार र समाजमा रहेका महिलालाई पनि देवी लक्ष्मीसरह आदर र सम्मान गर्न आग्रह गरेका हुन् ।
लक्ष्मीपूजाको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री थापामगरले तस्बिरमा सजिएकी देवी लक्ष्मीको पूजा गरेर मात्र नारीप्रतिको सम्मान पूरा नहुने उल्लेख गरेका छन् । उनले घरपरिवार तथा समाजमा रहेका महिलाको सम्मान, आत्मसम्मान र अधिकारलाई व्यवहारमा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
मुख्यमन्त्री थापामगरले संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै ती तीनै शक्तिको स्वरूप नारीमा रहेको बताएका छन् । बलकी प्रतीक पार्वती, विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मीको उदाहरण दिँदै उनले नारी शक्तिको महत्त्वलाई उजागर गरेका हुन् ।
‘स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता,’ उनले भनेका छन्, ‘त्यसैले आफ्नो मनोबल उच्च राखौँ, स्त्री शक्तिको सम्मान गरौँ ।’ उनले नेपाली समाजमा दसैँमा शक्तिको उपासना र तिहारमा लक्ष्मीको आराधना गर्ने धार्मिक तथा सांस्कृतिक परम्परालाई स्मरण गराउँदै धार्मिक आस्था र सामाजिक व्यवहारबिच समानता हुनुपर्ने सन्देश दिएका छन् ।
देवीको पूजा गर्ने, तर व्यवहारमा महिलालाई विभेद गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको सन्देशको सार रहेको छ । मुख्यमन्त्री थापामगरले आफ्नो शुभकामना सन्देशमा मनुस्मृतिको श्लोकसमेत उद्धृत गरेका छन् ।
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।’
‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको वास हुन्छ र जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका सबै धार्मिक तथा शुभकर्म निष्फल हुन्छन्,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनले महिला सम्मानलाई औपचारिक शुभकामना, धार्मिक अनुष्ठान र पर्वका अवसरमा गरिने पूजामा मात्र सीमित नराखी दैनिक जीवन, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारमा समेत उतार्नुपर्ने बताएका छन्।
महिलाको सम्मान, समानता र सशक्तीकरणलाई व्यवहारमा स्थापित गर्न सके मात्रै तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व सार्थक हुने उनको धारणा छ । महिला सम्मानमा समर्पित तिहारले नारी उत्थान र सामाजिक रूपान्तरणको कडीका रूपमा भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
मुख्यमन्त्री थापामगरले लक्ष्मीपूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र खुसीको कामना गरेका छन् । उनले तिहारको उज्यालोले प्रत्येक घरपरिवारमा सकारात्मक सोच, आपसी सदभाव र सम्मानको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनको शुभकामना सन्देशले तिहारलाई धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने पर्वका रूपमा मात्र नभई महिला सम्मान, नारी शक्ति र सामाजिक समानताको सन्देश प्रवाह गर्ने अवसरका रूपमा समेत लिनुपर्ने विषयलाई जोड दिएको छ ।