लामो समयदेखि अलपत्र लालबकैया पुल निर्माण अन्तिम चरणमा

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

रौतहट । रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पान निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ०७१ सालमा ठेक्का सम्झौता गरिएको उक्त पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन। निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको थियो। त्यसपछि बाँकी काम सम्पन्न गर्न०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो।

तर, नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेन। पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु आयोजनामा ढिलाइ हुनुका प्रमुख कारण रहेको मन्त्री लम्सालले बताएका छन्।

उनका अनुसार समस्या पहिचान भएपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको थियो। साथै, आवश्यक बजेटको पूर्ण व्यवस्था गरी निर्माण कार्यलाई गति दिइएको हो।

हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको छ। एप्रोच रोड र रिभर ट्रेनिङको काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिएका छन्।

लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको लालबकैया पुलको बाँकी काम सम्पन्न भएपछि सञ्चालनमा आउने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै क्षेत्रीय यातायातमा समेत सुधार आउने विश्वास गरिएको छ।


 

 

सुझावित समाचार