सार्वजनिक बसबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद, पाँचजना पक्राउ

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद गरेको छ। घटनामा तीनजना भारतीय नागरिकसहित पाँचजनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

ब्युरोको प्रशासनिक शाखाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय थानकोट र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ स्थित सुरुङमार्गमा चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।

जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा सवार भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमारलाई खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका– २२, सुन्धारास्थित एक होटेलबाट लागुऔषध खरिद गरी लिन आएका भनिएका दुईजनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ६ का २३ वर्षीया कृष्टि खड्की र २५ वर्षीय रामकृष्ण खड्की रहेका छन्। उनीहरूको साथबाट ट्रमाडोल एक हजार एक सय १० क्याप्सुलसमेत बरामद गरिएको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार घटनामा पाँचैजनालाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ।

 

सुझावित समाचार