चाडपर्वमा सुरक्षा र यातायात व्यवस्थापनमा कडाइ गरिने

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

धनकुटा । चाडपर्वका समयमा धनकुटामा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध कारोबार तथा सडक दुर्घटना नियन्त्रण गर्न सुरक्षा र यातायात व्यवस्थापनमा कडाइ गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार चाडपर्वलाई लक्षित गरी राजमार्ग तथा मुख्य सडकमा सुरक्षा गस्ती बढाइनेछ। जुवातास, अनलाइन सट्टेबाजी, विद्युतीय माध्यमबाट हुने ठगी तथा निषेधित विस्फोटक पदार्थको कारोबार र प्रयोग नियन्त्रण गर्न निगरानीसमेत बढाइनेछ।

बैंक तथा वित्तीय संस्था र एटिएममा सुरक्षा व्यवस्था मिलाउनुका साथै खाद्यान्न, पेट्रोलियम पदार्थ र एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गरिनेछ। बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि, म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्री नियन्त्रण गर्न नियमित अनुगमन गरिनेछ।

यातायाततर्फ बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र तीव्र गतिमा सवारी चलाउने कार्य रोक्न चेकजाँच कडा बनाइनेछ। लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्था कार्यान्वयन गराउनुका साथै बसपार्क र प्रमुख चोकमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ।

मनसुनका कारण क्षतिग्रस्त सडक मर्मत गरी आवागमन सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने जनाइएको छ। चाडपर्वलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी तथा सरोकारवाला संस्थाबिच समन्वय र निगरानी बढाइने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष रामबहादुर रायमाझीले बताए।

सुझावित समाचार