घरको जग खन्ने क्रममा पुरिएका दुई मजदुरको मृत्यु

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

कास्की/ घरको जग खन्ने क्रममा पुरिएर बिहीबार पोखरामा दुई मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्ला पर्वत महाशिला गाउँपालिका–६ फलामखानी घर भएका वर्ष २९ का विक्रम सुनार र जिल्ला गोरखा पालुङटार नगरपालिका–७ पालुङटार घर भएका वर्ष ३७ का राजु कुमाल रहेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, प्रवक्ता एवं सूचना अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८अकधेरीकुनास्थित निमार्ण हुदै गरेको घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका उनीहरुलाई खनेको जगको निकालिएको माटोको ढिस्को पुनःजगमा खस्दा दुई जना पुरिएर घाइते भएका थिए ।

माटोको ढिस्को खसीमानिस पुरिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालको कमान्डमा १०, वडा प्रहरी कार्यालय पोखरा–१ बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वाकालिका गण पोखराबाट सशस्त्रप्रहरी सहायकनिरीक्षक सुजितकुमार यादवको नेतृत्वमा १३ जनाको टोली खटिई गएर प्रहरी र स्थानीयहरूको संयुक्त प्रयासमा माटो पन्छाई पुरिएका उनीहरूको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याइएका उनीहरुलाई चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।मृतक दुवै जनाको शव सोही अस्पतालमा राखिएको छ भने प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

सुझावित समाचार