उदयपुर । स्थानीय र टिपर व्यवसायीबिच विवादले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प भएको छ । उदयपुरको कटारी नगरपालिका– ८, गाल्टारबाट उत्खनन गरी ढुवानी हुँदै आएको सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प भएको हो ।
हाल सौर्य सिमेन्टले ढुवानीका लागि प्रयोग गर्दै आइरहेको कटारी–सिम्ले–मर्जेपुर–गाल्टार खानी क्षेत्र सडकमा स्थानीयले दुर्घटनाको जोखिम बढेको भन्दै टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाएका छन् । त्यसपछि टिपर व्यवसायीले सोही सडकबाट तत्कालका लागि ढुवानी गर्न पाउनुपर्ने माग गर्दै सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्ग अवरुद्ध गर्दै आएका छन् ।
उदयपुर, सिराहा र सिन्धुली टिपर व्यवसायी समितिका अध्यक्ष नयन सुनुवारले स्थानीयको विरोधका कारण ढुवानी रोकिएपछि सडक खुलाउन माग गर्दै आन्दोलन गर्नुपरेको बताए । उनले भने, ‘हामीले विगत आठ वर्षदेखि जुन सडक प्रयोग गर्दै आइरहेका थियौँ, त्यो सडकमा अहिले स्थानीयले प्रयोग गर्न नदिने भनेका छन् । उद्योगले वैकल्पिक सडक नखोलुन्जेल हालकै सडक प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो माग मात्र हो । हामीले टिपर चलाउन पाएनौँ भने टिपरको किस्ता कसरी भर्नु ? दसैँ आएको घरखर्च कसरी चलाउनु ?’
टिपर व्यवसायीहरूले बुधबार खानीबाट चुनढुंगा ढुवानी रोकिएपछि सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका– ४ को सिम्ले बजार खण्डमा टायर बाल्दै टिपर सडकमा तेर्स्याएर विरोध प्रदर्शन गरेका थिए । यस्तै बिहीबार मदन भण्डारी लोकमार्गकै कटारी बजारखण्डमा टिपर तेर्स्याएर दुई घण्टा सडक अवरुद्ध बनाएका थिए ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलले स्थानीय हाल प्रयोग भइरहेको सडकमा टिपर चल्न नदिने पक्षमा रहेको र टिपर व्यवसायीले उद्योगले वैकल्पिक सडक नबनाउन्जेल तत्काल टिपर सञ्चालन गर्न पाउनुपर्ने माग गरेको बताए । उनले भने, ‘बुधबार पनि सिद्धिचरण लोकमार्ग अवरुद्ध गरियो । बिहीबार मदन भण्डारी लोकमार्ग टिपर व्यवसायीले दुई घण्टा अवरुद्ध पारे ।’
उनका अनुसार आगामी सोमबार कटारी नगरपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद र संघीय सांसदसहित सबै पक्ष नगरपालिकाको सभाहलमा बसेर छलफल गरी समाधान खोज्ने सहमतिपछि अहिले टिपर व्यवसायीको आन्दोलन र दुवै लोकमार्गबाट अवरोध हटेको छ । तर, स्थानीयले आन्दोलन भने जारी छ ।
सौर्य सिमेन्टले कटारी नगरपालिका– ८, गाल्टार क्षेत्रबाट चुनढुंगा उत्खनन गर्दै आइरहेको छ । त्यसमा कटारी नगरपालिका– ७ स्थित मर्जेपुर टोल विकास संस्थाले सौर्य सिमेन्टको चुनढुंगा ढुवानीका लागि स्थानीयको बस्ती हुँदै जाने सडक प्रयोग नगर्न माग गर्दै आइरहेको छ । उत्खनन क्षेत्र र ढुवानी हुने सडकआसपासका स्थानीयले विरोध गरेपछि ढुवानी रोकिएको छ । यता, सौर्य सिमेन्टकै चुनढुंगा ढुवानी सडकमा पर्ने सिम्ले गाउँका स्थानीयले टिपर सञ्चालनका लागि वैकल्पिक सडक खोज्न माग गर्दै आइरहेका छन् ।
कटारी नगरपालिकाकी उपमेयर गीता खड्काले चुनढुंगा ढुवानीको विवाद समाधान गर्न आगामी सोमबार त्रिपक्षीय छलफल गर्न लागिएको बताइन् । उनले भनिन्, ‘सौर्य सिमेन्टको चुनढुंगा ढुवानीका लागि स्थायी सडक नतोकिएकाले समस्या भएको हो । अब आगामी सोमबार स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिसहितको छलफलबाट स्थायी निष्कर्ष निकालिन्छ ।’
उनका अनुसार स्थानीयले हाल सौर्य सिमेन्टले प्रयोग गर्दै आइरहेको सडकमा टिपर नचलाउन माग गरेका छन् भने टिपर व्यवसायीले उद्योगले तत्कालका लागि वैकल्पिक व्यवस्था नगरेसम्म हालकै सडक प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।
सौर्य सिमेन्टका भिपी तथा खानी क्षेत्रका प्रमुख रामजी चौरसियाले हाल चुनढुंगा ढुवानी रोकिएको बताए । उनले भने, ‘सुरुमा खानी सञ्चालन हुँदा हालकै सिम्ले–मर्जेपुर–गाल्टार खानी सडकलाई स्थानीय सडक बनाउने भनेर सुरु गरिएको थियो । यसपटक मर्जेपुरले विरोध गरेपछि स्थानीयको पनि विरोध सुरु भयो । अनि टिपर व्यवसायीले तत्काल टिपर चलाउन माग गरेका छन् ।’
उनका अनुसार सौर्य सिमेन्टले सुरुमा कटारी–मरुवाखोला–नैनखाडी–गाल्टार सडक प्रयोग गर्ने तयारी गरेको थियो । उनले भने, ‘पछि मर्जेपुर क्षेत्रका गाउँहरूले सिम्ले–मर्जेपुर–गाल्टार खानी सडक स्थानीय रूपमा प्रयोग गर्न दिने भनेर प्रतिबद्धता गरेपछि प्रयोग गरिएको हो ।’ अहिले मर्जेपुरका गाउँलेले सडक नै प्रयोग गर्न नदिने भन्दै विरोध गरेपछि विवाद बढेको चौरसियाको भनाइ छ ।
सोही सडकलाई १८ मिटर चौडाइको बनाउने भनेर उद्योगले गरेको आइइई प्रतिवेदन खारेज भएको पनि उनले बताए । उनले भने, ‘विवाद भएपछि त्यो सडक चौडा बनाउने काम पनि रोकिएको छ । अब फेरि केही स्थानीयले विरोध गरिरहेका छन् ।’
उदयपुरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र– २ का सांसद सूर्य लामाको घर पनि कटारी नगरपालिका– ७ स्थित मर्जेपुर नै हो । उनै सांसद लामाले गाउँकै टोल विकास संस्थामार्फत हाल प्रयोग गरिएको सडकमा टिपर चल्न नदिने भन्दै निर्णय गरेपछि विवाद भएको सौर्य सिमेन्टको भनाइ छ । उनै चौरसिया भन्छन्, ‘सुरुमा सांसद लामाजी आफैँ ढुवानी व्यवसायी हुनुहुन्थ्यो । पछि उहाँ सांसद हुनुभयो । उहाँ ढुवानी व्यवसायी हुँदा उहाँकै गाउँबाट उहाँकै पहलमा ढुवानी सडक बनेको हो । अहिले उहाँले नै गाउँलेहरूसँग मिलेर बन्द गर्ने निर्णय गरेपछि समस्या भयो ।’
यता संघीय सांसद सूर्य लामाले आफूलाई विवादबारे थाहा नभएको बताए । उनले भने, ‘के भएको हो भन्नेबारे मैले बुझ्नुपर्छ ।’ कटारी क्षेत्रबाट सिद्धिचरण लोकमार्ग हुँदै मारुती, कसमस र सौर्य सिमेन्टको चुनढुंगा ढुवानी हुने गर्दछ । दैनिक रूपमा झन्डै पाँच सयभन्दा बढी टिपर चल्ने गरेका छन् । कसमस र सौर्य सिमेन्टको चुनढुंगा खानी क्षेत्र उदयपुरको कटारी नगरपालिकामा पर्दछन् भने मारुती सिमेन्टको चुनढुंगा खानी क्षेत्र सिन्धुलीको दुधौली नगरपालिकामा पर्दछ ।