नख्खु जेल ब्रेक गर्ने नेता बस्नेतको निधन

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

नेकपा संयुक्तका नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन भएको छ । २०३३ सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सिपी मैनाली र प्रदिप नेपालसहितका नेताहरुसँग मिलेर नख्खु जेल ब्रेक गर्नेमध्येका एक बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि थिए । भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । नेता बस्नेतको विहिबार विहान ८ बजेपछि पशुपतीस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनका भाञ्जा सञ्जिब रोक्काले जनाएका छन् । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गर्दै बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनु भएको दुःखद खबर सुनेँ । नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविष्मरणीय छ ।

लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गरेर आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको हो। म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु। कमरेड घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ओलीले भनेका छन् । उनको सङ्घर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झना भइरहने पनि ओलीले वक्तव्यमा जनाएका छन् ।

सुझावित समाचार