गण्डकी प्रदेशमा दुईपटक सांसद र ६ पटक मन्त्री भएका राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्। पटक-पटक पार्टी फेर्दै आएका गुरुङ मंगलबार देउवा समूहमा प्रवेश गरेका हुन्।
१५औँ महाधिवेशनको तयारीमा जुटेको इतर समूहले मनाङेलाई पार्टी प्रवेश गराउँदै मनाङ जिल्लाको जिम्मा दिएको छ। संस्थापन इतर समूहको नेतासँगै १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
२०७४ र २०७९ को प्रदेश सभा निर्वाचनमा उनी मनाङ १ ‘ख’बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी भएका थिए। ०७४ मा निर्वाचनमार्फत विजयी भएका उनलाई ०७९ को निर्वाचनमा दलहरूले ‘वाक ओभर’ दिएका थिए।
२०६६ फागुनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीमा प्रवेश गरे। मनाङे ०६८ सालमा लक्ष्मण चौधरी नेतृत्वको संघीय समाजवादी पार्टी प्रवेश गरेका थिए। २०७३ पुसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा प्रवेशसँगै उनी राप्रपा मनाङको जिल्ला अध्यक्ष बने।
०७४ असोजमा उनी अघोषित रूपमा नेकपा एमाले प्रवेश गरेका थिए। सो वर्षको मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा एमालेले मौन समर्थन गर्दै आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएको थियो। ०७६ असारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका मनाङे ०७९ मंसिरमा एकीकृत समाजवादीतर्फ लागे। त्यसको केही महिनापछि समाजवादी पार्टी छाडेको घोषणा गरेका उनी स्वतन्त्र रूपमा बस्दै आएका थिए।