मौसमका कारण अवरुद्ध सुकेटार विमानस्थल साढे तीन महिनापछि सञ्चालनमा

दसैँ–तिहारमा सातामा तीन दिन उडान हुने

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण
मौसमका कारण अवरुद्ध सुकेटार विमानस्थल साढे तीन महिनापछि सञ्चालनमा

सोमबार सुकेटार एयरपोर्टमा अवतरण भएको नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं प्रस्थान गर्दै यात्रु ।

साढे तीन महिनापछि सोमबार सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान गरेको छ । तीन महिना २० दिन अर्थात् गत जेठ २२ गतेदेखि मौसम प्रतिकूल बनेको भन्दै ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प थियो ।

सोमबार मौसम खुलेपछि काठमाडौंबाट १३ यात्रु लिएर ताप्लेजुङमा विमान आएको हो । ताप्लेजुङबाट पाँचजना यात्रु लिएर जहाज काठमाडौं फर्किएको थियो । वर्षायाममा उडानतालिका भए पनि मौसमका कारण सेवा सञ्चालन हुन नसकेपछि टिकट काटेका यात्रु पटक–पटक विमानस्थल पुगेर घर फर्किनुपरेको थियो, अब भने यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

दसैँ–तिहारलाई मध्यनजर गर्दै ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमले सातामा तीन दिन उडान गर्ने गरी कार्यतालिकासमेत बनाएको छ । यसअघि सातामा एक दिन (सोमबार) मात्र उडान हुँदै आएकोमा अब सोमबार, बिहीबार र शनिबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान हुने भएको छ ।

चाडपर्व र पर्यटकीय मौसमलाई लक्षित गर्दै निगमले उडानतालिका बढाएको हो । निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले मौसममा सुधार कायम रहे नियमित रूपमा तीन दिन नै उडान हुने जानकारी दिए ।

निगमले काठमाडौं–ताप्लेजुङको एकतर्फी भाडा १२ हजार दुई सय ७० रुपैयाँ र ताप्लेजुङ–काठमाडौंको १२ हजार ७० रुपैयाँ निर्धारण गरेको जनाएको छ । अबदेखि सातामा तीन दिन उडानतालिका बनाइएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालका प्रमुख दिलीपकुमार राजवंशीले जानकारी दिए । 

सुझावित समाचार