बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।

ताराखोला गाउँपालिका– ५, सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासू म्याग्दीको मालिका गाउँपालिका– २ की ७९ वर्षीया नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका उनले बताए । जिल्लामा अविरल वर्षापछि आएको विपतमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विपतमा परी एकजना बेपत्ता छन् ।

शनिबार ताराखोलामै एकजनाको मृत्यु भएको थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो ।

सुझावित समाचार