सडक अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज

सबै प्रकारको तरकारीको भाउ अत्यधिक वृद्धि, खाद्यान्नमा छैन समस्या

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

बिहीबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनाएको छ । लामो समयदेखि ग्यास आपूर्तिमा भइरहेको असहजतालाई सरकारीस्तरबाटै पहल भएर भारतबाट आयात हुने परिमाण बढाइरहेका वेला सडक अवरुद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप सास्ती खेप्नुपर्ने भएको छ ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेको प्रयासमा अहिले फेरि ठेस लागेको स्वीकार गरे । ‘भारतबाट आयात परिमाण बढाएर काम गरिरहेका थियौँ । यही वेला पुनः सडक अवरुद्ध भएपछि आपूर्ति सहज बनाउन चुनौती थपिएको छ,’ उनले भने, ‘यद्यपि, हामीले जतिसक्दो धेरै ग्यास बजारमा पठाउन प्रयत्न गर्दै आएका छौँ ।’ शुक्रबार ४० हजारभन्दा बढी ग्यास सिलिन्डर उपत्यकाका विभिन्न डिलरमार्फत वितरण गरिएको उनले जानकारी दिए ।

आयल निगम र उद्योगीबाट प्राप्त सूचीअनुसार शुक्रबार दिनभरमा वीरगन्ज नाकाबाट ग्यास बोकेका ४८ बुलेट भन्सार जाँचपास भएका छन् । यीमध्ये २९ बुलेट धादिङ, काभ्रे, काठमाडौं र ललितपुरका उद्योगका हुन्, जसले काठमाडौं उपत्यकामा ग्यास भरेर पठाउने गर्छन् । २९ बुलेट काठमाडौंका उद्योगसम्म आउने बाटो नहुँदा अहिले के गर्ने भन्ने अन्योल नै छ ।

शुक्रबार वीरगन्ज भन्सारबाट काठमाडौंको बालाजुस्थित नेपाल ग्यासका लागि सबैभन्दा धेरै सातवटा बुलेट पास भएका छन् । नेपाल ग्यासको नारायणी र गण्डकी शाखाका लागि थप एक–एक बुलेट पनि भन्सार पास भएका छन् । त्यस्तै, ललितपुरको चल्नाखेलमा उद्योग रहेको एभरेस्ट ग्यासका दुई, धादिङमा उद्योग रहेको साल्ट ट्रेडिङको एसटिसी ग्यास, श्री ग्यास र सुगम ग्यासका तीन–तीनवटा बुलेट भन्सार पास भए पनि प्लान्टसम्म आइपुगेका छैनन् । 

त्यस्तै, एचपी दुई, श्रीमाया एक, नमस्ते एक, राजधानी एक, श्रीराम दुई, श्रीकृष्ण एक, सूर्य दुई र लोकप्रिय एउटा ग्यास बुलेट वीरगन्ज भन्सार पास भए पनि बाटोमै रोकिएका छन् । अहिले भन्सार पास भए पनि बाटोको असुविधाले उद्योगसम्म बुलेट ल्याउन सक्ने अवस्था नरहेको एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिए । ‘भारतबाट धमाधम लोडिङ बढाएर ग्यास आपूर्ति सहज बनाउने दिशामा सबै पक्ष जुटेका थियौँ । तर, दुई दिन लगातार परेको वर्षाले मुख्य राजमार्ग अवरोध हुँदा चुनौती थपिएको छ,’ उनले भने । 

पेट्रोल, डिजेल र हवाई इन्धनको आपूर्तिमा भने समस्या नहुने निगमले जनाएको छ । पेट्रोल र डिजेलका लागि थानकोटमा करिब १० दिनलाई धान्ने मौज्दात रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । घरेलु तथा अन्तर्राष्ट्रिय जहाजले भर्ने हवाई इन्धन १५ दिनलाई पुग्ने गरी मौज्दात रहेको निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘दैनिक पाँच लाख लिटर हवाई इन्धन खपत हुने गरेको छ । यो हिसाबले १५ दिनलाई पुग्ने मौज्दात छ,’ उनले भने, ‘मुख्य राजमार्ग लामो समयसम्म अवरोध भएको खण्डमा वैकल्पिक मार्गबाट पनि ल्याउन सकिन्छ ।’

खाद्यान्नमा समस्या नहुने
लगातारको बर्सातले सडक अवरुद्ध भए पनि खाद्यान्न आपूर्तिमा समस्या नहुने खाद्य किराना व्यवसायी संघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । ‘नियमित रूपमा तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात नै हुन्छ । अर्कातिर, कृष्णभिरको पहिरो खुलेपछि तराई र भारतबाट चाडबाडका लागि भनेर पर्याप्त खाद्यान्न ल्याएर राखिएको छ,’ उनले भने ।

कालीमाटीमा निरन्तर घट्दै तरकारी आपूर्ति 
वर्षा सुरु भएपछि उपत्यकामा तरकारी आपूर्ति गर्ने सबैभन्दा ठुलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक भित्रिने तरकारीको परिमाण घटेको छ । वर्षा सुरु हुनुअघि दैनिक औसतमा सात लाख किलो तरकारी कालीमाटीमा भित्रने गरेको थियो । समितिको तथ्यांकअनुसार मंगलबार सात लाख नौ हजार र बुधबार सात लाख ३१ हजार किलो तरकारी भित्रिएको थियो । तर, बिहीबार ६ लाख ५६ हजार तीन सय आठ किलो तरकारी भित्रिएको समितिले जनाएको छ । शुक्रबार दिउँसो थप ३० प्रतिशतसम्म आगमन घटेको व्यवसायीले बताएका छन् । 

‘शुक्रबार दिउँसो खासै तरकारी आएको छैन । रातको समयमा अलि बढी आउने, तर निरन्तर वर्षा भएकाले मकवानपुर, धादिङ र काभ्रेका संकलन केन्द्रबाट गाडी ल्याउन सकिएको छैन,’ नेपाल कृषिउपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले भने, ‘तराई र भारतबाट त बाटोको असुविधा भएकाले ल्याउन सक्ने अवस्था नै छैन ।’ संघका अनुसार दिनभरमा एक लाख किलोसम्म तरकारी भित्रिएको र राति थप दुई लाख किलोसम्म आउने अनुमान गरिएको छ । दिउँसो र राति गरेर तीन लाख किलो तरकारी आएको खण्डमा पनि नियमित आपूर्तिको तुलनामा करिब ४० प्रतिशत मात्रै हुन्छ । उनका अनुसार आलु सात–आठ दिनलाई र प्याज तीन दिनलाई पुग्ने मात्रै मौज्दात छ । 

सबै तरकारीको भाउ बढ्यो
कालीमाटी बजारमा बिहीबार थोक मूल्य एक सय २५ रुपैयाँ प्रतिकिलो रहेको हरियो धनियाँ शुक्रबार चार सय ५० र एक सय ७५ रहेको हरियो प्याज दुई सय ७५ पुगेको छ । अन्य चोक–बजार र खुद्रा पसलमा तरकारीको भाउ योभन्दा बढी हुने गर्छ । यसरी कालीमाटी बजारमा सबै प्रकारका तरकारीको मूल्य अकासिएको समितिको तथ्यांक छ । बिहीबारको तुलनामा शुक्रबार गोलभेँडा एकै दिनमा २६ प्रतिशतले बढेर कालीमाटीमा औसत भाउ ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ । 

धार्नीको एक सय २० रुपैयाँ रहेको आलु पनि २० रुपैयाँसम्म बढेको छ । त्यस्तै, काउलीको भाउ ३३ प्रतिशतसम्म बढेको छ । बिहीबार ९७ रहेको काउली शुक्रबार बिहान एक सय २८ रुपैयाँ मूल्य निर्धारण भएको छ । त्यस्तै मुला, भेन्टा, बोडी, भिन्डीको भाउ २२ देखि २८ प्रतिशतले बढेको छ । कालीमाटीमा एक सय ५० रहेको भटमास कोसा एकै दिनमा ६५ प्रतिशत बढेर एक सय ९० पुगेको छ । हरियो फर्सी ५७ प्रतिशत वृद्धि भएर ५५ रुपैयाँ पुगेको छ । सबै प्रकारका सागको भाउमा ठुलो दरले बढेको छ । रायो साग ३७ प्रतिशत बढेर एक सय १०, पालुंगो १० प्रतिशत बढेर एक सय १०, तोरीको साग ६९ प्रतिशत बढेर एक सय १०, जिरीको साग ७५ प्रतिशत बढेर एक सय ७५ पुगेको छ ।

सुझावित समाचार