इरान युद्ध : चीनलाई अमेरिकी ‘उपहार’

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण
  • एक गोली नचलाई, एक डलर लगानी नगरी वा आफ्नो राजनीतिक पुँजी खर्च नगरी तीन दशकयता बेइजिङले लाभ उठाएको सबैभन्दा ठुलो परिघटना हो इरान युद्ध

अमेरिका–इरानबिचको युद्धको तीव्रतामा उतारचढाब भइरहँदा एउटा कुरा भने स्पष्ट देखिन्छ– यस द्वन्द्वबाट यदि कोही सबैभन्दा बढी लाभान्वित भइरहेको छ भने त्यो चीन हो । बेइजिङले एक गोली नचलाई, एक डलर लगानी नगरी वा आफ्नो राजनीतिक पुँजी खर्च नगरी यस्तो लाभ हासिल गरिरहेको छ । खासमा विगत तीन दशकयता बेइजिङले लाभ उठाएको सबैभन्दा ठुलो घटनामा दरिन्छ, इरान युद्ध । यस युद्धले चीनका तीनवटा दीर्घकालीन लक्ष्यलाई एक साथ अगाडि बढाउन सघाइदियो, मध्यपूर्वको अमेरिकामाथिको निर्भरतामा थप ह्रास, विश्वमा महत्वपूर्ण चिनियाँ प्रविधिको प्रयोगमा वृद्धि र बेइजिङ एक गम्भीर तथा स्थिर विश्वशक्ति रहेको विश्वासमा वृद्धि ।

बेइजिङले कहिल्यै पनि मध्यपूर्वमा वासिंटनले लिँदै आएको सैन्य सुरक्षाको जिम्मा लिने प्रयास गरेको छैन, त्यसो गर्न महँगा प्रतिबद्धता आवश्यक पर्छन् । खासमा मध्यपूर्वमा चीनको उद्देश्य सरल छ, ऊ खाडी राष्ट्रहरू अमेरिकी प्रभावबाट केही हदसम्म भए पनि बाहिरिऊन् भन्ने चाहन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ चाहना आफैँले पूरा गरिदिएका छन् ।

खाडी क्षेत्रका अमेरिकाका सहयोगी देशले वासिंटनले तयारीविना इरानमा युद्ध लडेको र यसबाट उनीहरूको सहर, पूर्वाधार तथा अर्थतन्त्रमा पुगेको  क्षतिप्रति बेवास्ता गरेको गुनासो गरेका छन् । इरान युद्धपछि फारसको खाडी क्षेत्र आफैँ दुई खेमामा विभाजित छ । संयुक्त अरब इमिरेट्स (युएई), इजरायल र वासिंटनतर्फ नजिकिँदै छन् । तर, साउदी अरबको नेतृत्वमा रहेको एउटा ठुलो समूहले (जसमा कतार, ओमान र सम्भवतः इराक तथा टर्कीसमेत समावेश छन्) सन्तुलन कायम गरेर दीर्घकालीन सुरक्षा खोज्ने प्रयास गरेका छन् । यसअन्तर्गत तिनले अमेरिकासँगको सम्बन्ध कायम राख्ने, साथसाथै इरानसँग संवाद र चीनसँग सुमधुर सम्बन्ध पनि बढाउने नीति लिने इच्छा देखाएका छन् ।

खासमा मध्यपूर्वमा बेइजिङले चाहेको क्षेत्रीय व्यवस्था ठ्याक्कै यही नै हो । सन् २०२३ मा चीनले साउदी अरब र इरानबिच कूटनीतिक सम्बन्ध पुनर्स्थापना गराउन मध्यस्थता गरेको थियो । त्यसयता रियादले अमेरिकाको नेतृत्वमा रहेका केही ‘डेटा सेन्टर’ र ‘कम्प्युटर चिप’ परियोजनामा सहभागी हुन अस्वीकार गरिदियो । उसले चिनियाँ क्षेप्यास्त्र र ड्रोन खरिद गरेको छ । चिनियाँ नौसेनासँग संयुक्त अभ्यास गरेको छ । साथमा रियादले ‘विङ लुङ’ लडाकु ड्रोन साउदीमै उत्पादन गर्ने सम्भावनामाथि विचार गरिरहेको छ ।

सन् २०१६ देखि २०२५ सम्म मध्यपूर्वमा भएको चिनियाँ रक्षा सामग्रीको निर्यातमा खाडी मुलुकको हिस्सा ८० प्रतिशतभन्दा बढी थियो । चिनियाँ हतियार खरिद गर्ने खाडी देशमध्ये कसैले पनि अमेरिकाको सुरक्षा छातालाई विस्थापित गर्ने प्रयास गरिरहेका छैनन् । तर, उनीहरूले विकल्प चाहेको स्पष्ट गरेका छन् । र, विकल्पले ती देशमाथि अमेरिकी प्रभाव वा दबाब दिने क्षमतालाई कम गर्छन् ।

चीनको अझ प्रभावशाली जित आर्थिक छ । पहिलो नजरमा हेर्दा आफ्नो कुल तेलको करिब ७० प्रतिशत आयात गर्ने भेग नै युद्धमा होमिँदा र तेल आयात रोकिँदा सबैभन्दा बढी नोक्सानी व्यहोर्ने मुलुकमध्ये चीन एक हुनुपर्ने हो । तैपनि, चीनले इरान युद्धपछि तेल मूल्यमा आएको वृद्धिबाट उत्पन्न झट्काको सामना अन्य धेरै देशको तुलनामा राम्रोसँग गर्यो । किनभने, उसले यस्तै अवस्थाका लागि वर्षौंदेखि तयारी गरिरहेको थियो । चीनले आफ्ना तेल आपूर्तिकर्ता देश बढायो । साथमा उसले विगत दशकमा तयार पारेको विश्वकै सबैभन्दा ठुलो मानिने तेलको भण्डारलाई प्रयोगमा ल्यायो ।

त्यसबाहेक इरान युद्धपछि चीनले कोइलाको प्रयोग पनि पुनः बढाएको छ । त्यस्तै, उसले विगतमा आणविक ऊर्जा विस्तारमा गरेको लगानीले प्रतिफल दिएको छ । चीनले पछिल्लो दश वर्षमै विश्वमा कुनै पनि प्रमुख देशले नगरेको स्तरमा आफ्नो अर्थतन्त्रलाई विद्युतीकरण गरेको थियो । अहिले चीनको कुल ऊर्जा खपतमा बिजुलीको हिस्सा करिब ३० प्रतिशत छ, जुन अमेरिका वा युरोपको तुलनामा झन्डै ४० प्रतिशतले बढी हो । सन् २०२४ मा विश्वभर जडान गरिएका नयाँ वायु र सौर्य ऊर्जा क्षमतामध्ये आधाभन्दा बढी चीन एउटै देशमा जडान गरिएको थियो । यी सबै लगानीको प्रतिफलस्वरूप इरान युद्धको समयमा चीनले आफ्नो तेल आयातमा दैनिक करिब ४० लाख ब्यारेलसम्म कटौती गर्न सफल भयो ।

त्यसबाहेक इरान युद्ध चीनका लागि आफ्ना महत्वपूर्ण प्रविधिको एउटा विशाल विज्ञापनजस्तै बनेको छ । चीन सरकार अहिले तेलको मूल्य बढेको समयमा विश्वभर सौर्य ऊर्जा, ब्याट्री, वायु टर्बाइन, विद्युतीय सवारी साधनसम्मको विस्तार गर्न अग्रसर छ । विश्वको कुल सौर्य–प्यानल उत्पादन क्षमताको करिब ९१ प्रतिशत र लिथियम–आयन ब्याट्री क्षमताको ८९ प्रतिशत हिस्सा चीन एक्लैले गर्छ । अमेरिकी मिडिया ब्लुमबर्गले गरेको एक अनुगमनले विश्वमा अहिले उत्पादन हुने कुल स्वच्छ–ऊर्जा प्रविधिमध्ये कम्तीमा ७० प्रतिशत चिनियाँ कम्पनीले मात्र उत्पादन गर्छन् । इरान युद्धका कारण खनिजजन्य ऊर्जा असुरक्षा जति लम्बियो, विश्वले चीनको वर्चस्व रहेका उद्योगका उत्पादन त्यति नै बढी खरिद गर्नेछ ।

इरान युद्धले चीनको एउटा प्रमुख लक्ष्यलाई पनि अघि बढाएको छ, त्यो हो विश्वव्यापी व्यापारमा डलरको पकड कमजोर पार्ने लक्ष्य । पछिल्लो समय अमेरिकी प्रतिबन्धको जोखिम कम गर्न चीन र उसका व्यापारिक साझेदारले रेन्मिन्बी (चिनियाँ मुद्रा)मा व्यापारलाई प्रभावकारी रूपमा विस्तार गरेका छन् । यो परिवर्तन क्रमशः बढ्दै जानेछ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय प्रतिष्ठाको सवालमा पनि इरान युद्धले ठुलो असर पारेको छ । ट्रम्प प्रशासनले यो युद्धमा ठुलो उद्देश्यसाथ प्रवेश गरेको थियो । ती मूलतः इरानको वर्तमान सत्ता परिवर्तन, इरानको आणविक कार्यक्रमको विनाश, ब्यालिस्टिक क्षेप्यास्त्र क्षमताको अन्त्य र इरानका क्षेत्रीय सहयोगी सशस्त्र समूहलाई दिइने समर्थनको अन्त्य थिए । तर, घोषित कुनै पनि उद्देश्य दिगो रूपमा हासिल हुन सकेको छैन । यसको सट्टा अहिले ट्रम्प प्रशासन केवल ‘स्ट्रेट अफ हर्मुज’ खुलाउने एक सूत्रीय प्रयासमा लागेको छ । जबकि, युद्ध सुरु हुनुअघि यो मार्ग त खुलै थियो ।

इरान युद्ध ट्रम्प आफैँले रोजेको युद्ध हो, जसमा अर्बौं डलर खर्च भइसकेको छ । ठुलो परिणाममा अमेरिकी हातहतियार भण्डार नष्ट भएको अध्ययनले देखाउँछ । हतियार कम भएपछि अमेरिकाले दक्षिण कोरियालगायत स्थानमा तैनाथ एन्टी ब्यालेस्टिक उपकरण यस भेगमा सारेको खबरले अमेरिकी सहयोगी राष्ट्रलाई सशंकित बनाएको छ । इरान युद्धका क्रममा यो कुरा पुन पुष्टि भएको छ कि अमेरिकाको विशाल शक्तिका बाबजुद गलत रणनीति र निरन्तर परिवर्तन भइरहने कार्यनीतिले नराम्रो नतिजा निम्त्याउन सक्ने रहेछ ।

चीनले यसबिच कुनै उल्लेखनीय कदम चालेन । उसले सुरुदेखि नै विभिन्न माध्यमबाट इरानबाट तेल खरिद गरिरह्यो । खाडी राष्ट्रसँग सम्बन्ध कायम राखिरह्यो । युद्धका बिच पनि उसले इरानको प्रतिरक्षा गर्ने वा खाडी क्षेत्रमा सुरक्षा व्यवस्था कायम गर्नेजस्ता खर्चिलो दायित्वबाट आफूलाई टाढा राख्यो । खासमा बेइजिङको पहिलेदेखिकै शैली यही हो–नाटकीय टकरावमा नपरी प्रभाव विस्तार गर्दै जाने ।

पछिल्लो २५ वर्षमा अमेरिका ठुल्ठुला तीनवटा सैन्य अभियानमा अल्झिएर थकित भयो । जबकि, चीनले यही अवधिमा विशाल उत्पादन क्षमता, प्राविधिक सामर्थ्य र कूटनीतिक सम्बन्धहरू विकास गर्यो । वासिंटन सक्रिय हुन्छ, बेइजिङ पर्खन्छ । हुन त चीनले पनि इरान युद्धबाट कुनै मूल्य नै नचुकाएको भने होइन । उसले पनि ऊर्जाको उच्च मूल्य, अवरुद्ध आपूर्ति शृंखला र विश्वव्यापी मागमा आएको कमीको सामना गर्नुपर्यो । तर, शक्ति सधैँ सापेक्ष हुन्छ । अमेरिकाका उद्देश्य, गठबन्धन र विश्वसनीयतामा पुगेको क्षतिको तुलनामा हेर्दा चीन धेरै अगाडि देखिएको छ ।

(अमेरिकी पत्रकार, राजनीतिक टिप्पणीकार तथा लेखक जकारिया सिएनएनको चर्चित ‘फरिद जकारिया जिपिएस’ कार्यक्रमका होस्ट हुन् । )
फरेन पोलिसीबाट

सुझावित समाचार