नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई केरकार गरेको छ । एन्फामा आर्थिक अनियमितताको उजुरीपछि सिआइबीले अनुसन्धान थालेको हो ।
सिआइबी अनुसन्धानका लागि सातदोबाटोमा रहेको एन्फाको मुख्यालयमा रहेका कागजात नियन्त्रणमा लिएको एन्फा स्रोतले बताएको छ । ‘सिआइबीले अनुसन्धानका लागि भनेर एन्फामा रहेका महत्वपूर्ण कागजपत्र लगेको छ,’ स्रोतले भन्यो । तेस्रो पक्षको हस्तेक्षप भनी फिफाले गत ११ असारमा नेपालमाथि अनिश्चितकालीन निलम्बन गरेको थियो । यसअघि राष्ट्रिय खेलकुद परिष्द (राखेप)ले स्वीकृति नलिएको र सर्वोच्च अदालतको आदेशविपरीत निर्वाचन गर्न लागेको भनी गत चैतमा एन्फामाथि प्रतिबन्ध लगाएको थियो ।
राखेपको हस्तेक्षपका कारण नै फिफाले नेपाललाई निलम्बन गरेको हो । निलम्बनको समयमा नेपालले विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गुमाउन बाध्य भइरहेको छ । दक्षिण एसियाली फुटबल (साफ) महासंघले सेप्टेम्बरसम्म निलम्बन फुकुवा नहुँदा नेपालविना नै प्रतियोगिता आयोजना गर्ने भनिसकेको थियो ।
साफ च्याम्पियनसिपको सुनिश्चितता गराउन बिहीबार एन्फाका पदाधिकारीले पत्रकार सम्मेलन गरी फिफाको गाइडलाइनअनुसार आगामी ५ असोजमा एन्फा मुख्यालयमा गएर काम गर्ने चेतावनी राखेपलाई दिएको थियो ।
कार्यालयमा कामकाज सुरु गर्दा एन्फाका पदाधिकारीले महत्वपूर्ण कागज लुकाउन सक्ने आशंका गर्दै सिआइबीले छापा मारेको एन्फा स्रोतले नै दाबी गरेको छ ।
‘सम्भवतः सोमबार पदाधिकारी कार्यालयमा आउँदा उनीहरूले महत्वपूर्ण कागज लुकाउन सक्ने सम्भावना भएका कारण शुक्रबार सिआइबीले छापा मारेको हुनुपर्छ,’ स्रोतले भन्यो, ‘सिआइबीको टोलीले कागजपत्र लगेको छ ।’ एन्फाका पदाधिकारीविरुद्ध आर्थिक अनियमिततासम्बन्धी उजुरी परेको छ । पछिल्लो समय एन्फा पदाधिकारी र शिक्षा तथा खेलकुद मन्त्रालयबिच विवाद चलिरहेको छ ।