सन् १९६१ : कंगो संकटबारे वार्ता गर्न गएको संयुक्त राष्ट्र संघको चार्टर्ड विमान नर्दन रोडेसिया (हालको जाम्बिया)को नदोलामा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा संयुक्त राष्ट्र संघका दोस्रो महासचिव ड्याग ह्यामरसोल्डसहित विमानमा रहेका १६ जनाको ज्यान गयो ।
सन् १७९३ : अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले वासिंटन डिसीमा संसद् भवनको जग हालेर भवनको निर्माण सुरु भएको घोषणा गरे ।
सन् १८१० : नेपोलियनले स्पेनका राजालाई अपदस्थ गरेपछि यसको उपनिवेश चिल्लीले आफू स्वायत्त बनेको घोषणा गर्यो । यस दिनलाई त्यहाँ अहिले राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।
सन् १८१२ : रुस आक्रमण गर्न गएका नेपोलियनलाई रोक्न वा सुस्त बनाउन रुसी फौजले मस्को सहर खाली गरेर सहरमा लगाइदिएको डढेलो पाँच दिनसम्म निरन्तर लागेर यस दिन रोकियो ।
सन् १८५१ : अमेरिकाबाट प्रकाशित हुने विश्वचर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’को पहिलो अंक प्रकाशन भयो ।
सन् १९१४ : बेलायतभित्रै स्वशासित आयरल्यान्डको व्यवस्था गरेको ‘आइरिस होम रुल’ विधेयकलाई शाही अनुमति प्राप्त भयो ।
सन् १९४७ : अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले जुलाईमा स्थापना गरेको गुप्तचर निकाय ‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सिआइए)’ औपचारिक रूपमा अस्तित्वमा आयो ।
सन् १९८० : क्युबाली नागरिक आनाल्डो तामायो सोभियत सोयुज ३८ मा चढेर अन्तरिक्ष पुगे । उनले त्यस क्रममा अन्तरिक्ष पुग्ने पहिलो अश्वेत व्यक्तिको रेकर्ड राखे ।
सन् २०१४ : स्कटल्यान्डको स्वतन्त्रता विषयमा भएको जनमत संग्रहमा ५५ प्रतिशत मतदाताले संयुक्त अधिराज्यमा रहने पक्षमा मत दिए भने ४५ प्रतिशतले अलग हुने पक्षमा ।