तुहीगाउँमा ट्यांकी बनेपछि सिँचाइ गर्न सहज

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

जुम्लाको दुर्गम तिला गाउँपालिका– ७, तुहीगाउँमा करिब एक सय नाै घरधुरी भएको बस्ती छ। यो गाउँ सडक सञ्जालमा जोडिए पनि नियमित सवारीसाधन भने सञ्चालन छैनन् । गाउँसम्म पुग्ने ट्रयाक  खोलिए पनि सडक स्तरवृद्धि गर्नुपर्ने अवस्था देखिन्छ। तुहीगाउँमा तीन सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन रहेको छ। यहाँका बासिन्दा धेरैजसो खेतीपाती कृषिबाट जीविकोपार्जन गर्न गर्दछन्। रोजगारमा जोडिएका कमै मात्रमा जोडिएका छन्। 

उनीहरूको आम्दानीको प्रमुख स्रोत भनेकै कृषि हो। फलफूलमा बढी स्याउ, ओखरखेती गर्ने गर्दछन्। अन्नबालीमा धान, जौ, गहुँ, कोदो, सिमी खेती गर्ने गर्दछन्। तुहीगाउँनजिकै एउटा खोला छ। तर, यो खोलामा बर्खायाममै सानाे पानी आउने गर्दछ । हिउँद सिजनमा खोलामा पानी घट्दै जान्छ । त्यो पानीले सबैलाई सिँचाइ गर्न मिल्ने अवस्था हुँदैन। 

यही समस्यालाई मध्यनगर गर्दै खोलाको छेउमा सिँचाइ ट्यांकी बनाइएको थियो । त्यसले सिँचाइ गर्न सहज भएको थियो । खोलाकिनारमा सिँचाइ ट्यांकी भएको ०७९ सालमा ठुलो बाढी आएपछि बगाएर लियो । बाढीले सिँचाइ ट्यांकी नै बगाएर लगेपछि धानखेती घट्दै गयो । स्थानीय हैजाली कामीले भनिन्, ‘त्यतिवेलाको बाढीले सिँचाइ ट्यांकी बगाएपछि निकै समय भयो । धानखेती पनि गर्न सकिएन । आकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्था आयो ।’

करिब चार–पाँच वर्षपछि पुनः गाउँमा सिँचाइ ट्यांकी बनेको छ। अब खेतबारीमा सिँचाइ गर्न सहज हुने आशा पलाएको स्थानीय बताउँछन्।  तुहीगाउँका धनपति कामीका अनुसार बाढीले सिँचाइ ट्यांकी बगाएको करिब चार–पाँच वर्षपछि पुनः अर्काे ट्यांकी निर्माण गरिएको छ । उनले भने, ‘स्थानीयवासीको २० प्रतिशत श्रमदानसहित सात लाख ३४ हजार रुपैयाँ बजेटमा सिँचाइ ट्यांकी निर्माण भएको हो ।’

यसमा वर्ल्डभिजन र किर्डाक नेपाल, जुम्लाको ठुलो सहयोग छ। कृषिबाट स्थानीय बासिन्दालाई जीविकोपार्जन सहज होस् भन्ने उद्देश्यका साथ सिँचाइ ट्यांकी वर्ल्डभिजन र किर्डाक नेपाल, जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगबाट निर्माण भएको निर्माण समितिका अध्यक्षसमित रहेका स्थानीय धनपति कामीले बताए । 

गाउँमा कार्यक्रम सहजीकरण गर्दै आएकी किर्डाक नेपाल, जुम्लाकी सामाजिक परिचालक मायादेवी रावलका अनुसार कृषिमा टेवा पुग्ने र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यका साथ सिँचाइ ट्यांकी निर्माण गरिएको हो । उनले भनिन्, ‘करिब तीन सय रोपनी खेती योग्यजमिनलाई सिँचाइ गर्न ५५ हजार लिटर क्षमताको सिँचाइ ट्यांकी निर्माण भएको छ ।’

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार वर्ल्डभिजन/किर्डाक नेपालजस्ता गैरसरकारी संस्थाले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा काम गर्दा सहज भएको छ । जसले गर्दा बाढीले क्षतिग्रस्त सिँचाइ ट्यांकी पुनः निर्माण गर्न सहज भएको छ । कृषकलाई राहत पुगेको छ । 

सुझावित समाचार