२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

आगामी ३ असोजदेखि आधिकारिक रूपमा जापानको नागोया र आइचीमा २०औँ संस्करणको एसियाड सुरु हुँदै छ । एसियाडको उद्घाटनअघि महिला भलिबल प्रतियोगिताको प्रारम्भिक चरणको पुल १ को खेल बुधबारदेखि सुरु भएको छ । नेपालबाट सहभागी महिला भलिबल टोली आयोजक जापानसँग सोझो ३–० को सेटमा पराजित भएको छ ।

कोमाकी आइचीस्थित ‘कोमाकी सिटी स्पोर्टस् पार्क जेनरल जिम्न्यासियममा भएको स्पर्धामा पहिलो खेलमै जापानसँग २५–८, २५–१२ र २५–११ को सेटमा पराजित भएको हो । पहिलो सेटको सुरुवातका २ अंक नेपालले हात पारेको थियो । त्यसपछि जापानिज खेलाडीले एकपक्षीय रूपमा अंक बटुल्दै सेटमाथि कब्जा जमाए । 

एफआइभिबी वरीयतामा जापान छैटौँ तथा नेपाल ६९औँ स्थानमा रहेका छन् । स्वर्ण पदकको दाबेदार जापानविरुद्ध नेपालले कुनै पनि सेटमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । दोस्रो तथा तेस्रो सेटमा नेपाली महिला खेलाडीले सुधारिएको खेल प्रस्तुत गरेका थिए । तर, ओलम्पिक खेलकुदको अनुभवप्राप्त खेलाडी सम्मलित जापानले नेपालमाथि एकपक्षीय जित निकाल्यो ।

इन्डोनेसियासँग दोस्रो खेल खेल्दै
एसियाडमा हारबाट सुरुवात गरेको भलिबल टोलीले बिहीबार इन्डोनेसियासँग दोस्रो खेल खेल्नेछ । इन्डोनेसियाको एफआइभिबी वरीयता ५३औँ स्थान रहेको छ । इन्डोनेसियासँगको खेल जिते नेपालले क्वार्टरफाइनल पुग्ने आशा यथावत् राख्नेछ । हारले छनोट खेल खेल्नेछ । एसियाली महिला भलिबल वरीयतामा जापान शीर्ष, इन्डोनेसिया नवौँ र नेपाल ११औँ स्थानमा छन् ।

नेपाली टोली

निरुता ठगुन्ना (कप्तान), सलिना श्रेष्ठ, उषा नाथ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, मीना सुनार, आरती सुवेदी, प्रगति नाथ, सलिना बुढामगर, रिमा कुँवर

खेलकुदमन्त्री पोखरेल र सदस्यसचिव मेहता जापान नजाने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सदस्यसचिव रामचरित्र मेहता जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागी नहुने भएका छन् । मन्त्री पोखरेल र नेपाली टोलीका सेफ द मिसनका रूपमा सदस्यसचिव मेहता बिहीबार जापान जाने तय थियो । पोखरेल र मेहताले अन्तिम समयमा एसियाडमा भाग नलिने भएका हुन् । मेहता जापान नजाने हुँदा अब नेपाली टोलीको नेताका रूपमा राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ हुने सम्भावना छ ।

नेपाली टोलीको वरीयतामा श्रेष्ठ दोस्रो स्थानमा छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मेहतालाई टोली नेता बनाएको छ । एनओसीले ओलम्पिक, एसियाड तथा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा टोली नेताका रूपमा राखेपका सदस्यसचिवलाई चयन गर्दै आएको छ । सरकारको प्रवक्तासमेत रहेका पोखरेल कार्य व्यस्तताका कारण जापान नजाने खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

‘मन्त्रीज्यू सरकारका प्रवक्तासमेत हुनुहुन्छ । कार्य व्यस्तताका कारण उहाँ एसियाडमा जानुहुन्न,’ मन्त्रालय स्रोतले भन्यो । गत साता सरकारका तर्फबाट एसियाडमा नेपाली टोलीको बिदाइ कार्यक्रममा सार्वजनिक गरिएको सूचीमा मन्त्री पोखरेलको नाम पनि समावेश थियो । सोही सूचीमा मेहता टोली नेताका रूपमा थिए । जापानमा तीन साताको बसाइ हुँदा मंसिरमा आयोजना हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी प्रभावित हुने भएकाले सदस्यसचिव मेहताले आफ्नो भ्रमण रद्द गरेका हुन् ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा हुनेछ । ‘दसौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने भएकाले एसियाडमा नजाने निर्णय गरेको हुँ,’ मेहताले भने । उनले आफू जापान जानु भनेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्नेबराबर भएको जनाए । ‘म त्यहाँ जानु भनेको पुनः एकपटक दसौँ राष्ट्रिय खेलकुद सार्नु हो । जापानमा कम्तीमा २० दिनको यात्रा हुनेछ,’ उनले भने । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा राखेपका सदस्यसचिवको भूमिमा सबैभन्दा धेरै हुन्छ ।

नेपालबाट यसपटक २१ खेलका १३५ खेलाडी सहभागी हुँदै छन् । जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । नेपाली टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा दुई खेल प्राविधिकसहित १८४ जना खेलकर्मी रहनेछन् । नेपाली टोलीमा ६ जना मेडिकल, चार पत्रकार, डेपुटी सेभ द मिसन, विशिष्ट अतिथि तथा अन्य अफिसियलसहित नेपाली टोलीको कुल संख्या २११ रहेको छ ।

सुझावित समाचार