सचेतनाले पनि रोक्न सक्छ आत्महत्या

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण
  • शिक्षकले सचेत भएर मानसिक समस्यासँग जुधिरहेका बालबालिकालाई चिन्न सके भने उनीहरू आत्महत्या रोकथामको पहिलो कडी बन्न सक्छन् 

बंगलादेशमा हरेक दिन ४० भन्दा बढी मानिसले आत्महत्या गर्छन् । सन् २०२० देखि २०२४ को अवधिमा कम्तीमा ७६ हजार ३६१ जनाले आत्महत्या गरेको तथ्यांक छ, जुन वार्षिक रूपमा १५ हजारभन्दा बढीको मृत्युबराबर हो । यी तथ्यांक अत्यन्तै भयावह छ, तैपनि आत्महत्यालाई सार्वजनिक स्वास्थ्य संकटका रूपमा राष्ट्रिय बहसको विषय बनाउने काम बिरलै गरिन्छ । यसको सट्टा, जब कसैले आत्महत्या गर्छ, तब उठ्ने प्रश्न प्रायः व्यक्तिगत र नैतिक प्रकृतिका हुन्छन् । उनीहरूले किन यसो गरे ? परिवारले के गर्यो ? उनीहरूले आफ्ना आमाबुबामाथि यस्तो व्यवहार कसरी गर्नसके ? परिणामस्वरूप परिवारले शोक मात्र होइन, लज्जाको भारी पनि बोक्नुपर्ने अवस्था आउँछ । आत्महत्याको प्रयासले अर्को तहको डर सिर्जना गर्छ, बंगलादेशमा दण्ड संहिताको दफा ३०९ अन्तर्गत आत्महत्याको प्रयास गर्नु अझै पनि फौजदारी अपराध मानिन्छ, जसका लागि जेल सजाय, जरिवाना वा दुवै हुन सक्छ । तर, हरेक दिन ४० जनाभन्दा बढी मानिसले आत्महत्या गर्छन् भने हामी किन अझै पनि आत्महत्या रोकथामको सट्टा मुख्यतया लज्जा, नैतिकता, पारिवारिक प्रतिष्ठा र अपराधका दृष्टिकोणबाट मात्र कुरा गरिरहेका छौँ ?

हामीले प्रयोग गर्ने भाषाले परिवारले घटनालाई कसरी बुझ्छन्, समुदायले पीडामा रहेका व्यक्तिप्रति कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेबारे ख्याल गर्नुपर्छ । हामी प्रायः आत्महत्याबारे यस्तो तरिकाले कुरा गर्छौं, जसले अनजानमै कलंक, लज्जा र एक्लोपन बढाउँछ । यदि आत्महत्या रोक्न सकिने विषय हो भने यसको रोकथाम केवल सेवाबाट मात्र होइन, बरु मद्दत माग्नका लागि सुरक्षित वातावरण छ कि छैन भनेर निर्धारण गर्ने भाषा र सामाजिक प्रतिक्रियामा परिवर्तन ल्याएर सुरु गरिनुपर्छ । आत्महत्याबारे कुरा गर्ने तरिका परिवर्तन गर्दैमा मात्र सबैको ज्यान जोगिन्छ भन्ने होइन । तर, यसले रोकथामका लागि आवश्यक परिस्थिति सिर्जना गर्न मद्दत गर्न सक्छ । ‘आत्महत्या गरेको’ ‘कायर’, ‘स्वार्थी’ वा ‘सजिलो बाटो रोजेको’जस्ता शब्दले आत्महत्यालाई पीडाप्रतिको जटिल प्रतिक्रियाको सट्टा नैतिक असफलताका रूपमा चित्रण गर्न सक्छन् । यो कुरा विशेषगरी बंगलादेशको सन्दर्भमा महत्वपूर्ण छ, जहाँ आत्महत्याको प्रयासलाई अझै पनि आपराधिक कसुर मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) ले यो तर्क गर्छ कि अपराधीकरणले दोषारोपण बढाउन सक्छ । विश्वभर हरेक वर्ष सात लाख २० हजारभन्दा बढी मानिसको ज्यान लिने जनस्वास्थ्य संकटलाई अपराधका रूपमा व्यवहार गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो । त्यसैले, आत्महत्याको जोखिमपूर्ण अवस्थामा रहेको व्यक्तिले मद्दत माग्दा लज्जा वा सजाय भोग्नुपर्ने डर मान्छ भने मौनता नै जोखिमको एक हिस्सा बन्न पुग्छ । यसैकारण आत्महत्यासम्बन्धी दृष्टिकोण वा भाष्य परिवर्तन गर्नु अत्यन्त महत्वपूर्ण छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान छ कि प्रत्येक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्या प्रयास हुन्छन् । यसले यो पनि भन्छ कि मिडिया रिपोर्टिङले रोकथामलाई बलियो र कमजोर दुवै बनाउन सक्छ । व्यापक सनसनीपूर्ण रिपोर्टिङ, आत्महत्याका विधिको विवरण र आत्महत्यालाई समाधानका रूपमा चित्रण गर्नाले जोखिम बढाउन सक्छ । यसको विपरीत, आशा, पुनर्प्राप्ति र आत्महत्या संकटमाथि विजय हासिल गर्न जोड दिने कथाले सुरक्षात्मक प्रभाव पार्न सक्छ । डब्लुएचओको हालको आत्महत्या रोकथाम रणनीतिमा अत्यधिक घातक माध्यममा पहुँच प्रतिबन्धित गर्ने, भावनात्मक समर्थनलाई बलियो बनाउने र समाजका सबै तहमा आत्महत्या व्यवहारको पहिचान र व्यवस्थापन सुधार गर्नेजस्ता हस्तक्षेप समावेश छन् ।

तर, भाषा परिवर्तन गर्दैमा मात्र आत्महत्या रोकिँदैन । आत्महत्या रोकथामको जिम्मेवारी कसको हो भन्नेबारे हाम्रो बुझाइमा पनि परिवर्तन ल्याउन आवश्यक छ । विशेषगरी, बंगलादेशजस्ता देशमा, जहाँ मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ स्रोत–साधन सीमित छन्, यो जिम्मेवारी केवल मनोचिकित्सक, मनोवैज्ञानिक वा अस्पतालमा मात्र सीमित राख्नुहुँदैन । त्यसैले, समुदायस्तरका सरोकारवालालाई यसमा संलग्न गराउनु महत्वपूर्ण छ । आत्महत्याको प्रयास गर्ने वा आत्महत्याका कारण ज्यान गुमाउने व्यक्तिका परिवारले यस विषयमा खुलेर कुरा गर्न हीनताबोधलाई पन्छाउनुपर्छ । जब उनीहरू यसबारे कुरा गर्छन्, प्रायः उनीहरूले आफ्ना प्रियजनलाई समयमै साथ दिन नसकेकोमा पछुतो व्यक्त गर्छन् र ती व्यक्तिले आफूहरूसँग अलि छिटो सहयोग मागेको भए हुन्थ्यो भन्ने चाहना राख्छन् ।

रोकथामको सुरुवात यहीँबाट हुनुपर्छ, पहिले मानिसलाई सहयोग माग्नबाट केले रोकिरहेको छ भन्ने कुरा पत्ता लगाउने र आत्महत्या कुनै समाधान नभई पीडाबाट मुक्ति पाउनका लागि गरिने अन्तिम गुहार हो भन्ने कुरालाई स्वीकार गर्ने । यसका साथै आजकल केही विद्यालयमा परामर्शदाता भए पनि उनीहरू प्रायः अनुशासन कायम गर्न मात्र राखिएका हुन्छन् । शिक्षकहरू पर्याप्त रूपमा सचेत भए र मानसिक समस्यासँग जुधिरहेका बालबालिकालाई चिन्न सके भने उनीहरू आत्महत्या रोकथामको पहिलो कडी बन्न सक्छन् । देशमा विद्यार्थीको आत्महत्याको बढ्दो संख्यालाई हेर्दा माध्यमिक र उच्च शिक्षाको तहमा पनि यो कुरा महत्वपूर्ण छ । त्यसपछि कार्यस्थलको कुरा आउँछ, जहाँ मानिसले आफ्नो जीवनको ठुलो हिस्सा बिताउँछन् । तसर्थ, कार्यस्थलमा सचेतना जगाउनाले पनि आत्महत्या रोकथाममा ठुलो प्रभाव पार्न सक्छ ।

(अहमद ‘आइडेन्टिटी इन्क्लुजन’की संस्थापक तथा प्रमुख विकास परामर्शदाता हुन्)
डेली स्टारबाट

सुझावित समाचार