प्रतिनिधिसभाको मंगलबारको बैठक दिउँसो १:२६ मा सुरु भयो । बैठक हल सांसदले भरिँदै गयो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २७५ सांसदमध्ये १९७ ले हाजिरी गरेको रेकर्ड छ । तर, सांसदहरू बैठकमा धेरैबेर धैर्य गर्नै सकेनन् । केहीबेरमै बैठक कक्षबाट बाहिरिने क्रम बढ्दै गयो । एक–डेढ घण्टापछि त उपस्थितभन्दा रित्ता कुर्सी धेरै देखिन थाले । आफूले बोलेर हिँड्न थाले ।
झन्डै दुईतिहाइ सदस्य रहेको सत्तारूढ रास्वपाकै ‘रो’मा सांसदहरू पातलिएपछि बैठकमै प्रश्न उठ्यो । अपराह्न ३:२२ मा नेकपाका प्रमुख सचेतक युवराज दुलालले आपत्ति जनाउँदै भने, ‘सत्तापक्षका दुईतिहाइ सांसद छन्, तर बैठकमा उपस्थिति हेर्दा टीठलाग्दो छ, ३० जना पनि उपस्थित देखिएको छैन ।’ त्यसपछि क्यान्टिनमा चियागफमा व्यस्त केही सांसद बैठकमा फर्किए । तर, पनि बैठक हल रित्तोजस्तै देखिन्थ्यो । धेरैजसो सांसद हाजिरी ठोकेर संसद्बाट हिँडिसकेका थिए । हाजिर भएका सांसदले एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था छ ।
बैठक सकिँदै गर्दा सभा हलमा एकतिहाइ सांसद पनि मुस्किलले थिए । हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसद्मा नयाँ होइन । तर, देश विपत्तिमा रहेका वेला गम्भीर विषयमा हुने छलफलमा समेत सांसदहरू बैठकमा धैर्य गरेर बस्न सकेनन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलसँग प्रश्नोत्तर भएको थियो । त्यस्तै, कानुनमन्त्री सोविता गौतमको ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मेलनमाथि नेपालले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव अनुमोदन भएको थियो ।


