सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ करिब ५ः३० बजे बागमती नगरपालिका–४, गोले टोलमा पानीसँगै परेको चट्याङ लागेर स्थानीय ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार बाख्रा चराउँदै गरेकी दिनामाथि चट्याङ खसेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो।
सोही घटनामा हस्तबहादुर बोम्जनकी ११ वर्षीया छोरी प्रीतिमा बोम्जन र ४२ वर्षीय पोसाकबहादुर वाइबा पनि गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार प्रीतिमाको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएको छ। अर्का घाइते पोसाकबहादुरको बागमती नगरपालिका–११ स्थित सभ्यता अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार पोसाकबहादुरको दुवै कानमा गम्भीर चोट लागेको छ।
मंगलबार बिहानैदेखि सर्लाही र आसपासका क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको थियो। रोकिँदै–पर्दै भइरहेको वर्षासँगै दिउँसो केही बेरको अवधिमा सर्लाही आसपासका क्षेत्रमा दर्जनौँपटक चट्याङ परेको थियो। अन्य स्थानमा चट्याङबाट क्षति भएको जानकारी नआएको एक प्रहरी अधिकारीले बताए।