अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत भेरी करिडोर अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए।
वर्षापछि नलगाड नगरपालिका– १ र २ को बिचमा पर्ने बौलाहा खोलामा आएको बाढीले सडक तथा आसपासका संरचनामा क्षति पुर्याएपछि यातायात प्रभावित भएको हो। बाढीका कारण सडक अवरुद्ध भएपछि जाजरकोट–डोल्पा आवतजावत गर्ने यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू बिचबाटोमै रोकिनुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताए।
भेरी करिडोर जाजरकोट हुँदै डोल्पासम्मको मुख्य यातायात मार्ग भएकाले सडक अवरोधले दैनिक आवतजावतसँगै खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या गरेको छ। पछिल्ला वर्षमा बाढीपहिरोका कारण करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।
जोखिमयुक्त स्थानमा तत्काल आवतजावत नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु तथा चालकलाई आग्रह गरेको प्रहरीले जनाएको छ। सुरक्षा निकायले घटनास्थलको अवस्था बुझ्ने, क्षतिको विवरण संकलन गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक सञ्चालनका लागि आवश्यक पहल गरिरहेको छ।
भेरी करिडोर आयोजनाको एक्स्काभेटरमार्फत सडक सञ्चालनका लागि पहिरो पन्छाउने काम भइरहेको छ। विशेषगरी वर्षायाममा खोलाको बहाब बढ्ने र विभिन्न स्थानमा पहिरो खस्ने गरेका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ। करिडोरअन्तर्गतका कतिपय खोलामा स्थायी मोटरेबल पुल निर्माण सम्पन्न नहुँदा अस्थायी कजवे र अन्य संरचनामै निर्भर रहनुपर्दा बाढी आउनासाथ यातायात रोकिने गरेको छ। करिडोरअन्तर्गत जाजरकोट खण्डमा निर्माणाधीन पाँच मोटरेबल पुल लामो समयदेखि निर्माण व्यवसायीका कारण अलपत्र अवस्थामा छन्।
सडक अवरुद्ध भएपछि डोल्पा जाने यात्रु, बिरामी तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बढी प्रभावित भएका छन्। सडक तत्काल सञ्चालनमा नआए डोल्पाका दुर्गम बस्तीमा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत थप समस्या आउन सक्ने स्थानीयको चिन्ता छ।
यसअघि पनि नलगाडको ताक्सुगाड क्षेत्रमा बाढीले सडक, पुल तथा घरटहरा बगाउँदा भेरी करिडोर लामो समय अवरुद्ध भएको थियो। सडक मर्मतपछि सञ्चालनमा आए पनि वर्षायाममा पुनः अवरुद्ध हुने जोखिम कायमै छ। अहिले पनि बाढीपहिरो प्रभावित क्षेत्रमा सडक खुलाउने कामसँगै यात्रुको सुरक्षा मुख्य चुनौती बनेको छ। प्रहरीले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म अनावश्यक यात्रा नगर्न र बाढी तथा पहिरोको जोखिम रहेका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।