रोल्पामा मोतियाविन्दु तथा आँखाका अन्य बिरामीहरूको शल्यक्रिया गरिएको छ। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वय, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग शनिबार र आइतबार शल्यक्रिया शिविर सम्पन्न भएको हो।
लिबाङमा आयोजित निःशुल्क शल्यक्रिया शिविरमा मोतियाविन्दुका ९९ बिरामीहरूको शल्यक्रिया गरिएको छ। जसमध्ये ८० जनाको अत्याधुनिक मेसिन फेको प्रविधिबाट सहुलियत दरमा र १९ जनाको हातले एसआइसिएसको माध्यमबाट शल्यक्रिया गरिएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रोल्पाका कार्यालय प्रमुख खडक भाटले जानकारी दिए। तीनजनाको आँखामा मासु पलाएको र १ जनाको आँखाको ढकनीको शल्यक्रिया गरिएको भाटले बताए।
तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सुनील थापा नेतृत्वको टोलीका नेत्र रोग विशेषज्ञ डा. विश्व मुखियासहितका १२ जना नेत्र विशेषज्ञहरूले सेवा दिएका थिए। जिल्लाका विभिन्न ८ ठाउँमा शिविर आयोजना गरी शल्यक्रियाका लागि छनोट गरिएको थियो।
हरेक वर्ष निःशुल्क आँखा शिविर आयोजना गरी ग्रामीण भेगका आँखाका बिरामीहरूलाई सेवा दिइरहेको लिबाङस्थित सामुदायिक आँखा केन्द्रले यस वर्ष पनि गाउँगाउँमा शिविर आयोजना गरेको थियो। ती शिविरबाट आँखाका हजारौं बिरामी लाभान्वित भएका रेडक्रस रोल्पाका सभापति नौलसिंह पुनमगरले बताए।
गरिबीका कारण सहर गएर आँखा रोगको निवारण गर्ने अवस्था नभएका आँखा स्वास्थ्यबारे पर्याप्त जानकारी नभएका कारण रोग बोकेर हिँड्नुपर्ने बाध्यतालाई गाउँगाउँमा हुने शिविरले राहत दिएको सभापति पुनमगरले बताए। शल्यक्रियापछि बिरामीहरूले जिल्लामै सेवा पाएकामा खुसी व्यक्त गरेका छन्।