सिबिफिनको कार्यवाहक अध्यक्षमा उपाध्याय

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

 बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ । निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वमा निरन्तरता दिन उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो ।

महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्याय बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन् । अनुभवी व्यवसायी तथा रणनीतिकारका रूपमा परिचित उपाध्यायले सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा योगदान दिँदै आएका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको नेतृत्वदायी भूमिकामा हासिल गरेको अनुभवका आधारमा उपाध्यायको नेतृत्वमा सिबिफिनले वर्तमान आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौती समाधानमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उनको नेतृत्वमा सिबिफिनले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता अभिवृद्धि तथा दिगो विकासका लागि आफ्ना नीतिगत प्राथमिकता र भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

See More On

सुझावित समाचार