मध्यपूर्वमा द्वन्द्व विस्तार भइरहेका वेला इराकबाट प्रहार गरिएका ड्रोनको आक्रमणपछि साउदी अरबले एउटा महत्वपूर्ण तेल पाइपलाइन बन्द गरेको छ । इरानसँग सीमा जोडिएको आफ्नो एउटा प्रान्तबाट छिमेकी मुलुकको ‘पूर्व–पश्चिम’ पाइपलाइनमा ड्रोन आक्रमण भएको स्वीकार गरेपछि इराकले एक सैन्य कमान्डरलाई बर्खास्त गर्नुका साथै घटनाको अनुसन्धानसमेत सुरु गरेको जनाएको छ ।
साउदी अरबले यसअघि नै इराकमा रहेका इरान–समर्थित लडाकु समूहहरूले आफ्ना तेलसम्बन्धी संरचनालाई निसानामा पारेको आरोप लगाउँदै आएको छ ।१,२०० किलोमिटर (७४५ माइल) लामो यो पाइपलाइनले विश्वकै सबैभन्दा ठुलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई ‘स्ट्रेट अफ हर्मुज’ छलेर तेल ढुवानी गर्न मद्दत गरेको छ ।
अमेरिका र इरानबिचको द्वन्द्व सातौँ महिनामा प्रवेश गरिरहँदा र यमनमा इरान–समर्थित हुथी विद्रोहीहरूले ठुलो अग्रता लिइरहेको अवस्थामा पछिल्लो घटनाक्रमको विकास भएको हो । यसले विश्वव्यापी तेल ढुवानी मार्गमा थप दबाब सिर्जना गरेको छ । हुथी विद्रोहीहरूले सम्पूर्ण लालसागरको तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएको भोलिपल्टै शुक्रबार साउदी–समर्थित यमनी सरकारी फौजले रणनीतिक महत्वको तटीय सहर ‘मोखा’मा हुथी लडाकुमाथि आक्रमण गरेको जनाएको छ ।