भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई तीनवटा ७० मिटर लम्बाइका मोड्युलर पुल उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री ४८ वटा गाडीमा शनिबार हेटौँडा आइपुगेपछि भारतीय दूतावासले सडक डिभिजन कार्यालय हेटौँडालाई हस्तान्तरण गरेको हो ।
भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले तीनवटै पुलका सामग्री सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरणकुमार कार्कीलाई हस्तान्तरण गरे । भारतबाट उपलब्ध गराइएका तीनवटै पुलका सामग्री ४८ वटा गाडीमा हेटौँडा ल्याइएको हो ।
सडक डिभिजन हेटौँडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्यांकन गरी सम्बन्धित स्थानमा पठाउनेछ । तीनवटै पुल ७० मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोड्युलर पुल हुन् । आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सडक सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरणकुमार कार्कीले बताए ।
उनका अनुसार बाढीबाट रसुवा र चितवनबिचका ४१ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । पक्की पुल निर्माणका लागि अध्ययन, डिजाइन, बजेट व्यवस्थापन र निर्माण प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि बेली तथा मोड्युलर पुल जडान गरेर सडक सम्पर्क सञ्चालन गर्ने कामलाई प्राथमिकता दिइएको कार्कीले बताए ।
उनका अनुसार बाढीबाट कतिपय पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपयमा आंशिक क्षति पुगेको छ । ‘अहिलेको अप्ठ्यारो अवस्थामा तुरुन्तै कनेक्टिभिटी रिस्टोर गर्न बेलिब्रिजजस्तो अर्को उपाय छैन,’ उनले भने, ‘भारतबाट प्राप्त पुललाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाएर सडक सम्पर्क जोड्ने काम अघि बढ्छ ।’
पुल हस्तान्तरण गर्दै भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले भोटेकोशी बाढीबाट नेपालमा ठुलो जनधनको क्षति भएकामा भारत दुःखी रहेको बताए । यद्यपि, विपत्को कठिन समयमा नेपाललाई सहयोग गर्न पाउनु भारतका लागि खुसीको विषय भएको उनको भनाइ थियो । उनले भारतबाट उपलब्ध गराइएका पुलले बाढीका कारण सडक सम्पर्कविच्छेद भएका स्थानमा आवागमन सहज बनाउन तथा अत्यावश्यक सामग्री ढुवानीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘यो सहयोगले बाढीका कारण सम्पर्क टुटेका स्थानलाई जोड्न र आवश्यक सामग्री ल्याउन–लैजान सहयोग पुग्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘नेपाललाई विपत्का क्षेत्रमा आवश्यक पर्ने अन्य सहयोग सामग्री पनि हामी निरन्तर उपलब्ध गराउँदै जानेछौँ ।’ उनका अनुसार नेपाल विपत्बाट पूर्ण रूपमा बाहिर नआउँदासम्म भारतले आवश्यक सहयोगलाई निरन्तरता दिनेछ ।
बागमती प्रदेशका मुख्मयन्त्री किरण थापाले काठमाडौंको फुन्सोक छोलिङ गुम्बा (एलो गुम्बा)मा आश्रय लिइरहेका रसुवाका बाढी प्रभावितहरूलाई भेटेका छन् । उनले शनिबार रसुवाका १७५ घरधुरीका ५२० जनासँग भेट गरेका हुन् । उनले विस्थापित परिवारसँग उनीहरूका समस्या, गुनासा र तत्काल आवश्यकताबारे जानकारी लिएका थिए ।