काठमाडौंमा रक्तदान कार्यक्रम हुँदा चावहिलका पुण्यरत्न बज्राचार्य सकेसम्म टुप्लुक्क पुग्छन् । तीन दशकअघि नै रक्तदान गर्न सुरु गरेका बज्राचार्यले अहिलेसम्म एक सय तीनपटक रक्तदान गरिसकेका छन् । ‘रक्तदान गरे शरीर कमजोर हुन्छ । अरूको रगत आफ्नो शरीरमा हाल्नुहुँदैन भनेर कसैले पनि रक्तदानका लागि चासो राख्दैनथे,’ तीन दशकअघि बज्राचार्यले यस्ता कुरा गाइँगुइँ सुन्थे ।
‘एकजनाले दिएको रगतबाट तीनजनासम्म मानिसको ज्यान बचाउन सकिन्छ । दुर्घटना, ठुला शल्यक्रिया, रक्तअल्पता (एनिमिया) र क्यान्सरका बिरामीलाई रगत अतिआवश्यक हुन्छ । यी जानकारी पाएपछि म रक्तदानका लागि प्रदर्शनीमार्गस्थित रेडक्रसको कार्यालयमै पुगेर रक्तदान गरें,’ पहिलोपटक रक्तदान गरेको समय उनी सम्झिन्छन् । २०५० सालमै रक्तदान गरेका पुण्यरत्नले अहिले पनि रक्त अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर विभिन्न ठाउँमा रक्तदान गर्न पुग्छन् ।
व्यवसायसँगै समाजसेवीको पहिचान बनाएका बज्राचार्यले पहिलोपटक रक्तदान गरेपछि दुई वर्ष व्यवसायकै सिलसिलामा देशबाहिर रहँदा रक्तदान गरेनन् । त्यसपछिका दिनमा निरन्तर रूपमा रक्तदानमा सक्रिय छन् । आफ्नावरपरका साथीभाइ, आफन्तलाई समेत रक्तदान गर्न पे्ररित गर्छन् । रगत आवश्यक हुनेलाई रगत खोजेर सहयोग गर्छन् । ‘समाजमा रक्तदानप्रति सकारात्मक चेतना फैलाउन हामी सक्रिय छौँ । रक्तदान सामाजिक उत्तरदायित्व मात्र नभई मानवजीवनप्रतिको उच्च सम्मान र करुणाको प्रतीक हो,’ उनी भन्छन् ।
अचेल पुण्यरत्न आफू मात्र रक्तदान गर्दैनन् । अरूलाई पनि रक्तदान गर्न जागरुक गराउँछन् । यसो गर्नुको पनि केही कारण छन् । उनलाई लाग्छ, ‘रगतको विकल्प केही छैन । किनभने विज्ञानले धेरै कुरा बनायो । तर, रगत बनाउन सकेको छैन । त्यसैले मैले आफ्नावरपरका मानिसलाई रक्तदानमा सहभागी हुनु भन्दै आइरहेको छु ।’ पुण्यरत्नले रक्तदान गर्ने वेलाको त्यो समय र अहिलेको समयमा धेरै फरक आएको उनलाई लाग्छ ।
अहिले धेरै मानिसमा रक्तदान गर्नुपर्छ भन्ने धारणा विकास भएको उनलाई लाग्छ । ‘अचेल मान्छेमा रक्तदान गर्ने कुरामा जागरुकता आएको पाउँछु । धेरै सार्वजनिक ठाउँहरूमा रक्तदान कार्यक्रम भइरहेका हुन्छन् । मेरै टोलमा समेत हप्तैभरि यस्ता कार्यक्रम हुन्छन्,’ उनले भने । रक्तदानको विषय एकदमै संवेदनशील भएकाले यसलाई महत्वपूर्ण विषयको रूपमा हेरिनुपर्ने र विद्यालयस्तरदेखिकै पाठ्यक्रममा राख्नुपर्ने उनको बुझाइ छ ।
‘समाज र अप्ठ्यारोमा परेका मानिसप्रति जिम्मेवारी पूरा गर्न र मानवीय भावना जागृत गराउन रक्तदानले ठुलो भूमिका खेल्छ,’ उनी भन्छन्, ‘रक्तदानका बारेमा अझै जनचेतनाको कमी भएकाले राज्य तहबाटै काम हुन आवश्यक छ ।’सामान्य अवस्थामा नेपालभर दैनिक करिब १२ सय पिन्ट र काठमाडौं उपत्यकामा मात्रै तीन सय ५० देखि चार सय पिन्ट रगतको आवश्यक पर्छ । मनसुन, ठुला चाडबाडका वेला रक्तदान कार्यक्रम कम हुने हुँदा देशका विभिन्न भागमा रगतको अभाव देखिने गरेको छ । ओ नेगेटिभ रक्त समूहको अभाव अझै धेरै हुन्छ । ‘रगत कतिवेला चाहिन्छ थाहा हुँदैन । त्यसैले मैले आफ्नो स्वास्थ्यले साथ दिएसम्म रक्तदान गर्नेछु,’ ५८ वर्षीय बज्राचार्यले भने ।