विपतजन्य जोखिमका आधारमा हाम्रा राष्ट्रिय राजमार्ग कति सुरक्षित देखिन्छन् ?
विपत्जन्य जोखिमका दृष्टिकोणबाट हेर्दा हाम्रा कुनै पनि राजमार्ग सुरक्षित छैनन् । बिपी राजमार्गको हालत हामी सबैले देखेकै छौँ । पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्डको अवस्था पनि हामी सबैबाट लुकेको छैन । मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था पनि चिन्ताजनक छ । भोटेकोशी बाढीका कारण गल्छी–केरुङ राजमार्ग अहिले छिन्नभिन्न अवस्थामा छ । चीनको केरुङ नाकासितको सम्बन्ध पूरापूर टुटेको छ । अरनिको राजमार्गमा पनि बारम्बार समस्या आइरहेको देखिन्छ । पूर्व–पश्चिम राजमार्ग अहिले स्तरोन्नतिको चरणमा छ । यसरी हेर्दा हाम्रा कुनै पनि राजमार्ग विपत्जन्य जोखिमका आधारमा हेर्दा सुरक्षित देखिन्नन् ।
राजधानी जोड्ने पृथ्वी राजमार्गको भरभर्दो विकल्प किन नखोजिएको होला ?
धेरै पहिल्यै खोजिनुपर्थ्यो । विगतमा हामी सानो छँदा पनि कृष्णभिरको पहिरोले सडक अवरुद्ध भएको समाचार सुन्थ्यौँ । अहिले पनि त्यही घटना दोहोरिइरहेको छ । अब पनि हामीले पृथ्वी राजमार्गको भरपर्दो विकल्प दिन सकेनौँ भने हाम्रा छोराछोरीले पनि त्यसैका कारण दुःख पाउनु पर्नेछ । त्रिशूली नदीपारि तुलनात्मक रूपमा अलि समथर जमिन भएका कारण पारिबाट वैकल्पिक सडक बनाउन त सकिन्छ, तर त्यो पनि नदीकै किनारमा पर्ने हुनाले असुरक्षित नै हुनेछ । त्यसैले, अब सुरुङ मार्गमा जाने कि फास्ट ट्र्याकमा जस्तो खोला नभएको स्थानमा पनि डाँडाडाँडा जोड्ने गरी अग्ला–अग्ला पुलको विकल्पमा जाने कि भनेर गम्भीर अध्ययन हुनु जरुरी छ । तर, जसरी गए पनि दीर्घकालीन सोच राखेर जानुपर्ने देखिन्छ ।
द्रुतमार्गजस्ता राष्ट्रिय गौरवका आयोजना निर्माणमा किन यति धेरै ढिलाइ हुन्छ ?
हामीकहाँ आयोजना अघि बढाउन प्रक्रियागत झन्झट बढी छ । खरिद प्रक्रियादेखि वन, जग्गा अधिग्रहणलगायत समस्या जटिल देखिन्छन् । ठेकेदारले काम नगरेमा ठेक्का तोडेर नयाँ प्रक्रियामा जान पनि झन्झटिलो छ । फास्ट ट्र्याकमा ठुल्ठुला पुल र ‘कम्प्लेक्स्ड’ संरचनाका कारण पनि केही ढिलाइ भइरहेको हो ।