‘भोटेकोशी विपत्ति विश्वकै असाधारण र विरलै हुने घटना’

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रो. आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको भएको बताएका छन्।

भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनहरूको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताए।

‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ। सम्भवतः यस्तो घटना पहिलो नै होला,’ उनले भने। डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था थियो। अत्यन्तै साँघुरा गल्छी, बिग्रिएका सडक तथा पुल र हेलिकाेप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठुलो जोखिम मोलेर काम गरिरहेको उनले बताए।

‘अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो वेला पनि होइन। यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ,’ उनले भने।

सतहमा ठुलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुनेसमेत उनले प्रस्ट पारे। जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ।

डिक्सका अनुसार सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने गर्छन्। सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि उनी अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए।

नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उनले विपत्तिका कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताए।

‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो। जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्त्वपूर्ण छ,’ उनले भने। भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता उनले औँल्याए।

सुझावित समाचार