- नोभेम्बरको मध्यावधि चुनावमा ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले कंग्रेस(संसद)मा बहुमत गुमायो भने ट्रम्पलाई प्रायः एजेन्डा अगाडि बढाउन धेरै कठिनाइ उत्पन्न हुनेछन् । त्यसैले चुनावको मुखमा युक्रेन युद्ध रोक्न कुनै खालको शान्ति सम्झौता गरेर ट्रम्प मतदातामाझ सकारात्मक सन्देश प्रवाहित गर्न खोज्दै छन् ।
अमेरिकी दूतहरू जेर्ड कुसनर र स्टिभ विट्कफले रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा कूटनीतिक सक्रियता तीव्र पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका यी दूतहरूले गत शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरे । रुस–युक्रेन युद्धलाई दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक द्वन्द्व मानिएको छ । पाँचौँ वर्षमा चलिरहेको युद्ध रोक्ने सम्बन्धमा पुटिनलाई भेटेपछि ट्रम्पका ज्वाइँ कुसनर र अमेरिकी विशेष दूत विट्कफ आइतबार किभ पुगे । पछिल्लो कूटनीतिक सक्रियताले युद्ध अन्त्यको दिशामा केही आशा बढेको छ ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका सहयोगी युरी उसाकोभलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अमेरिकी दूत र रुसी राष्ट्रपतिबिच भएको उच्चस्तरीय वार्ता ‘अत्यधिक उपयोगी’ रह्यो । तीन घण्टाभन्दा बढी समयसम्म चलेको वार्तामा विट्कफ र कुसनरले ‘सम्झौताका लागि सम्भावित मार्गबारे कैयौँ विकल्प प्रस्तुत गरेको’ उसाकोभले बताए । पुटिनले शनिबार क्रेमलिनको प्रसिद्ध रेड ड्रइङ रुममा अमेरिकी दूतसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले आफ्ना अमेरिकी पाहुनाले युद्ध रोक्नेसम्बन्धी पेस गरेका विकल्प ‘सहज नभएको’ बताए । सबैभन्दा पेचिलो विषय युक्रेन नेटोमा सामेल हुन नहुने र रुसी सेनाको नियन्त्रणमा रहेका चार युक्रेनी क्षेत्र रुसलाई नै हस्तान्तरण गर्नुपर्ने सर्त छन् ।
सेप्टेम्बर २०२२ मा पुटिनले आंशिक रूपमा कब्जा गरिएका चार युक्रेनी क्षेत्र दोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया रुसमा विलय भएको घोषणा गरेका थिए । उक्त कदमलाई राष्ट्र संघसहित अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । युक्रेनले रुसलाई आफ्नो भूभाग नसुम्पने बताएको छ । ट्रम्प प्रशासनले युक्रेनको नेटो सदस्यता भने नस्विकार्ने बताइसकेको छ । यसअघि गत वर्ष अगस्टमा पनि ट्रम्प र पुटिनबिच अलास्कामा शिखर भेटवार्ता भएको थियो । तथापि, त्यस शिखर भेटवार्ताले पनि युद्ध अन्त्य गर्न सफल भएन ।
विट्कफ र कुसनर पछिल्लो समय प्रायः ठुला द्वन्द्व अन्त्य गर्नेसम्बन्धी वार्तामा संलग्न हुने गरेका छन् । उनीहरू इरान युद्ध, हमास र इजरायलबिचको तथाकथित युद्धविराम सम्झौतादेखि युक्रेन–रुस युद्धको वार्ता सुचारु गर्नेसम्बन्धी कूटनीतिमा संलग्न छन् । विट्कफलाई औपचारिक रूपमा मध्यपूर्वको विशेष दूतको रूपमा नियुक्त गरिएको थियो । पछि उनलाई रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न सघाउने कार्यभार तोकिएको थियो । उता कुसनरले यसअघि सन् २०२० मा सम्पन्न अब्राहम सम्झौता तयार पार्न प्रमुख भूमिका खेलेका थिए ।
युक्रेन शान्ति योजनाका बुँदा अस्पष्ट छन् । तर, ट्रम्पले गत साता कुनै थप विवरण नदिई आफूहरूसँग ‘शान्तिका लागि एक विचार रहेको’ भनेका थिए । मस्को भ्रमणमा कुसनर र विट्कफसँगै अमेरिकाको ‘नेसनल सेक्युरिटी काउन्सिल’, विदेश मन्त्रालय र वित्त मन्त्रालयका अधिकारी पनि प्रतिनिधिमण्डलमा सहभागी थिए । ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले रुसमाथि प्रतिबन्ध बढाएको छ । यद्यपि, इरान युद्धले ट्रम्प र विश्वव्यापी ध्यान युक्रेन–रुस द्वन्द्वबाट अन्यत्र सरेको छ ।
अमेरिकी दूतमाथि युक्रेनमा आशंका
विज्ञका अनुसार युक्रेनमा अमेरिकी राजदूतप्रति आशंका देखिन्छ । ‘युक्रेनी अधिकारीमाझ मुख्यतः विट्कफ र कुसनर रुसी दबाब स्वीकार गराउन लागिपरेको भन्ने छ,’ अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालयका रक्षा र रणनीतिक अध्ययनका वरिष्ठ अनुसन्धान फेलो एलेक्सी मुराभिएभले भने ।
क्रेमलिन भ्रमणका क्रममा अमेरिकी दूतको सौहार्दपूर्ण सम्बन्धले पनि युक्रेनलाई थप सशंकित बनाएको छ । जस्तो, विट्कफले पुटिनसँगको भेटमा अमेरिकी राष्ट्रपतिले पठाएको शुभकामना जाहेर गर्दै प्रतिनिधिमण्डलको भ्रमणका क्रममा युद्धविराम गरेकोप्रति धन्यवाद दिएका थिए । त्यसपछि रुसी राष्ट्रपतिले ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ताको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताएका थिए । विट्कफले पुटिनसँगको भेटमा व्यक्त गरेका शब्द र शैलीलाई यता युक्रेनीहरूले राम्रो मानेका छैनन् ।
रुस र युक्रेनले सोमबारसम्म एक–अर्काको राजधानीमा आक्रमण रोक्ने घोषणा गरेका छन् । सम्भवतः अमेरिकी दूतको भ्रमणप्रति सकारात्मक सन्देश प्रवाहित गर्न यस्तो कदम चालिएको हुन सक्छ । रुस र युक्रेनले एक–अर्काको राजधानीमा बमबारी रोकेको भए पनि दुवै देशका अरू सहरमा भने आक्रमण जारी छन् । यही अवधिमा युक्रेनमा रुसी आक्रमणमा कम्तीमा सातजनाको मृत्यु भएको छ भने युक्रेनी ड्रोन आक्रमणमा रुसको बेल्गोरोड क्षेत्रमा एकजनाको मृत्यु भयो । हालैका महिनामा दुवै पक्षले ड्रोन आक्रमणलाई तीव्र बनाएका छन्, जसमा दर्जनौँको मृत्यु भएको छ । युक्रेनले कम लागतका, लामो दूरी तय गर्न सक्ने ड्रोनमार्फत रुसभित्रका औद्योगिक तथा रसद स्थलमा आक्रमण बढाएको छ ।
‘नजिकिँदै गरेको हिउँदे मौसमको पूर्वसन्ध्यामा रुसी आक्रमणले युक्रेनी पूर्वाधारमा पुर्याएको ठुलो क्षतिलाई ध्यानमा राख्दा युक्रेनको सबलताको स्तरमाथि चिन्ता बढेको छ,’ एडिथ कोवान विश्वविद्यालयका प्रध्यापक मुराभिएभले भने । मुराभिएभका अनुसार पुटिनले खासमा दीर्घकालीन रणनीतिक सम्झौता खोजिरहेको छ । पछिल्लो समय विभिन्न युरोपेली देशका संवेदशील क्षेत्रमाथि ड्रोन उडाइएको घटनामा रुस जिम्मेवार रहेको आशंका छ ।
अमेरिकी राष्ट्रपतिले विभिन्न अवसरमा युक्रेन–रुस युद्धमा प्रत्येक महिना दुवै पक्षमा दसौँ हजार मानिसको मृत्यु भइरहेको बताउने गरेका छन् । सन् २०२४ मा आफ्नो पुनः निर्वाचन अभियानको क्रममा ट्रम्पले आफू राष्ट्रपति चुनिए २४ घण्टाभित्र युद्ध समाप्त गर्ने बताएका थिए । तर, त्यो समयसीमा धेरैपटक परिमार्जन भइसक्यो । यसै उद्देश्यले उनले अलास्कामा पुटिनसँग शिखर वार्ता पनि गरे । त्यसबाहेक जेलेन्स्कीसँग अलग रूपमा धेरैपटक भेटवार्ता गरेका छन् । तर पनि युद्ध अन्त्य हुने कुनै छाँटकाँट छैन । ट्रम्प प्रशासनका हालैका पहललाई महिनौँदेखि रोकिएको कूटनीति पुनर्जीवित गर्ने प्रयासको रूपमा व्याख्या गरिएको छ । सिआइए निर्देशक जोन रेटक्लिफ गत महिना रुसी गुप्तचर अधिकारीसँग भेट्न मस्को गएका थिए । त्यस्तै, अमेरिकाले रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभलाई हालै सम्पन्न विश्वका शीर्ष अर्थतन्त्रको समूह जी–२० को बैठकमा आमन्त्रित गरेको थियो ।
रुसी अर्थमन्त्रीलाई बोलाएकोमा धेरै युरोपेली देशले विरोध जनाएका थिए । पछि सहभागी युरोपेली नेताले रूसी कूटनीतिज्ञसँग सामूहिक तस्बिर लिन अस्वीकार गरे । सञ्चार माध्यमका अनुसार ट्रम्पले नोभेम्बरमा चीनमा हुने ‘एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)’को शिखर सम्मेलनको समयमा पुटिनसँग भेट्ने अपेक्षा गरिएको छ । रुसका उपविदेशमन्त्री सर्गेई रियाबकोभले आइतबार नै मस्कोले रुस, चीन र अमेरिकाका राष्ट्रपतिबिच त्रिपक्षीय बैठकलाई अस्वीकार नगरेको टिप्पणी गरे । इरान युद्ध अझै पनि चलिरहेको र युक्रेन–रुस द्वन्द्व गतिरोधमा बदलिएका वेला ट्रम्पको पछिल्लो कूटनीतिक प्रयास आएको छ ।
इरानसँगको युद्धका कारण नोभेम्बरमा हुने महत्वपूर्ण मध्यावधि चुनाव ट्रम्पको पार्टीलाई चुनौतीपूर्ण हुने प्रक्षेपण गरिएको छ । यदि ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले कांग्रेसमा बहुमत गुमायो भने राष्ट्रपतिलाई आफ्ना प्रायः एजेन्डा अगाडि बढाउन निकै असहज हुनेछ । चुनावको मुखमा युक्रेन युद्ध रोक्ने गरी कुनै खालको शान्ति सम्झौता भयो भने ट्रम्पको सफलता देखिने भएकाले पनि उनले सक्रियता बढाएका हुन सक्छन् ।
(समिम वैश्विक राजनीति, द्वन्द्व र मानव अधिकारको विषयमा कलम चलाउँछिन्)
अलजजिराबाट