खोला तर्ने क्रममा बाजुराका किशोर बेपत्ता

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

बाजुराको जगन्नाथ गाउँपालिका– ३ मा खोला तर्ने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार स्थानीय बिर्ज सिंहका अन्दाजी १६ वर्षीय छोरा अनुज सिंह मंगलबार दिउँसो बाख्रा चराउन गएको वेला सोही ठाउँस्थित कालसिंगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।

घटनाबारे स्थानीय खडक भण्डारीले मंगलबार साँझ करिब ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीनजना प्रहरी घटनास्थलतर्फ खटिएका छन्। यस्तै, सशस्त्र प्रहरी बल नेपाल, गुल्म बाजुराको विपत् उद्धार सुरक्षा बेस कोल्टीबाट सातजनाको टोलीसमेत परिचालन गरी बेपत्ता किशोरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

खोलामा पानीको बहाब तीव्र रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको जनाइएको छ। प्रहरीले स्थानीयवासीसँग समन्वय गरी खोजीकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सुझावित समाचार