कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भदौ २३ र २४ गतेलाई एउटै आँखाले हेर्न नमिल्ने भन्दै जेन–जी सहिद दिवसलाई राजनीतिक रंग नदिन आग्रह गरेकी छिन्।
दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, ‘२३ गते हाम्रा युवाहरूलाई गोली हानिएको हो। त्यसैले यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष-विपक्षमा नबाँडीकन, एक ठाउँमा आएर एक अर्कालाई ढाडस दिनुपर्छ।’
२३ भदौमा कुनै पनि युवा सत्ता पल्टाउँछु भनेर सडकमा नआएको प्रस्ट पार्दै उनले भदौ २३ र २४ लाई एउटै आँखाले हेर्न नमिल्ने बताइन्। उनले भनिन्, ‘२३ गतेको घटनामा कुनै पनि युवा कसैको कुर्सी खोस्छु भनेर सडकमा आएको थिएन। म आवाज दिन्छु, मेरो सरकारले सुन्छ भन्ने विश्वासले आएको थियो। तर, जनताको विश्वासमाथि घात भएको थियो।’
अब नेपालमा कुनै पनि नेपालीले भदौ २३ गतेको जस्तो नियति भोग्न नपरोस् भनी सबैले संकल्प गर्नुपर्नेमा उनले जोड दिइन्।