वृद्धको सामाजिक सुरक्षाभत्ता चोर्ने बाबुछोरा पक्राउ

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

साथीसाथी मिलेर समाजमा चोरी गर्ने घटनाहरू त बाक्लै सुनिन्छन् । तर, रामेछापमा भने एकै घरका बाबुछोरा मिलेर एक वृद्धको घर फोडी सामाजिक सुरक्षाभत्ताबापतको रकम चोरी गरेको अभियोगमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनापती गाउँपालिका– २, नयाँ पानीट्यांकी टोलका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दीप तामाङ रहेका छन् । उनीहरू बाबु र छोरा मिलेर भदौ १८ गते बिहान करिब ६ बजे सुनापती गाउँपालिका– २, दिमीपोखरीका ७५ वर्षीय इमानसिंह तामाङको घर फोडी उनले राखेको सामाजिक सुरक्षाभत्ताबापतको रकम ७८ हजार रुपैयाँ चोरी गरी फरार भएका थिए । 

घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएपछि चोरी गर्ने व्यक्तिहरूको खोजीमा जुटेको प्रहरीले एकाघरका बाबुछोरालाई चोरी गरेको रकमसहित नियन्त्रणमा लिएको हो । उनीहरू दुवैजनालाई चोरी मुद्दामा मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापको सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

पछिल्लो समय रामेछापमा चोरीका घटना बढेसँगै प्रहरीले चोरीमा संलग्नहरूको खोजीकार्य तीव्र बनाएको छ । 
 

सुझावित समाचार